१५ चैत्र २०८०, बिहिबार

राखेपद्वारा गण्डकी प्रदेशमा ९ खेल पूर्वाधार निर्माण सम्झौता

प्रकाशित मिति :  15 February, 2021 6:05 pm


कास्की । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले गण्डकी प्रदेशका विभिन्न जिल्लामा ९ वटा खेल पूर्वाधार निर्माणका लागि सम्झौता गरेको छ ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सम्बन्धित उपभोक्ता समितिका बीचमा आइतबार पोखरामा सम्झौता भएको हो । बजेट कार्यक्रममा परेका पूर्वाधार निर्माणका लागि यसअघि राजधानी गएर सम्झौता गर्नुपर्नेमा यसपटक सम्बन्धित प्रदेशमै निर्माण सम्झौता कार्यक्रम गरिएकाले उपभोक्ता समितिलाई सहज भएको राखेपले जनाएको छ ।

कास्कीसहित पर्वत, लमजुङ, तनहुँ, म्याग्दी, गोर्खालगायतका जिल्लामा नौवटा पूर्वाधार निर्माणका लागि स्थानीय उपभोक्ता समितिसँग १ करोड ९५ लाख बराबरको सम्झौता गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले जानकारी दिए । पोखराको ज्येष्ठ नागरिक बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि राखेपले ५० लाख उपलब्ध गराउने भएको छ । ५५ लाख ६३ हजार ८६ लागत अनुमान रहेकामा बाँकी रकम समितिले व्यहोनुपर्ने सम्झौतामा उल्लेख छ ।

लमजुङको राइनास नगरपालिका–६ स्थित गौलीटार रङ्गशाला निर्माणका लागि राखेपले ५० लाख उपलब्ध गराउने भएको छ । सो रङ्गशालाको लागत अनुमान ५५ लाख ९२ हजार १६१ छ । लमजुङ कभर्डहल निर्माणका लागि १० लाख, म्याग्दीको बेनी रङ्गशाला निर्माणका लागि १० लाख, पर्वतको कुश्मा कभर्डहल निर्माणका लागि १० लाख, तनहुँको चिन्टुटार रङ्गशाला निर्माणका लागि १० लाख, म्याग्दीको रत्नेचौर बहुउद्देश्यीय खेल मैदानका लागि १० लाख, बागलुङमा मदन भण्डारी कभर्डहल निर्माणका लागि १० लाख र गोरखा रङ्गशाला स्तरोन्नतिमा १० लाख उपलब्ध गराउने गरी सम्झौता गरिएको छ ।

सम्झौतामा सम्बन्धित उपभोक्ता समितिले तोकिएको काम आगामी २०७८ वैशाख मसान्तभित्र सम्पन्न गरी सक्नुपर्ने छ । सम्झौता कार्यक्रमका अवसरमा राखेप सदस्यद्वय राजेशकुमार गुरुङ र रेनुका श्रेष्ठ, विभागीय प्रमुखद्वय कुलबहादुर थापा र अर्जुन विक सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस !