१२ बैशाख २०८१, बुधबार

अमेरिकी विदेश नीतिका लागि सल्लाहकारको रूपमा छानिए दाङका डाँगी

प्रकाशित मिति :  18 February, 2021 1:13 pm


काठमाडौ । अमेरिकी सरकारका लागि सल्लाह दिन छनौट गरिएका १४ प्रोफेसरहरूमा एक नेपाली प्रोफेसर छानिएका छन् ।

दिगो वातावरणसम्बन्धी विषयमा सल्लाह दिन अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग युएसएडको मानवीय सहयोग ब्युरोको सल्लाहकारको रूपमा नेपाली डा. मोहन डाँगी नियुक्त भएका हुन् । डाँगीले जेफर्सन साइन्स फेलोसिपबाट यो उच्च सम्मान आफूले पाएकोमा खुशी र गौरवको अनुभग गरेको बताएका छन् ।

फ्रेस्नो स्टेटका प्रोफेसर डाँगीलाई यो जिम्मेवारी अमेरिकाको विदेश विभागका लागि नीति निर्माणसम्बन्धी अध्ययनका लागि एक वर्षसम्मका लागि दिइएको हो ।

क्षेत्र तथा प्रतिक्रिया सञ्चालन , आपूर्ति शृंखला प्रवन्धनसम्बन्धी निकायमा डाँगीको विज्ञता प्रयोग हुने फ्रेस्नोस्टेट न्युज डटकमले जनाएको छ ।
यो फेलोसिप कार्यक्रम अमेरिकाको विदेश विभाग तथा युएसएडको संयुक्त सहयोगमा त्यहाँको राष्ट्रिय विज्ञान , इन्जिनियरिङ तथा चिकित्सा विज्ञान प्रतिष्ठानले सञ्चालन गर्ने गरेको छ ।

डाँगीले अमेरिकी सरकारका पदाधिकारीहरूलाई विज्ञानका जटिल विषयहरूमा समझदारी विकास तथा निर्णय गर्न आवश्यक हुने निर्देशन तथा सल्लाह दिने छन ।

यो जिम्मेवारीमा रहेर डाँगीले फ्रेस्नो स्टेटका लागि वातावरणीय नीति प्रवन्ध तथा वातावरणीय प्रदुषणसम्बन्धी पाठ्यक्रम विमास गर्न सान्दर्भिक विषयवस्तु ल्याउन सक्ने अपेक्षा गरिएको छ ।

अमेरिकी सरकारका लागि छनौट गरिएको १४ जना प्रोफेसर मध्ये एक डाँगी हुन् ।

विकासशील देशहरूमा पाठयक्रम विकास गर्ने व्यक्तिको रूपमा डाँगी ख्याति कमाएका व्यक्तित्वहरूमा एक हुन् ।

आफ्नो मातृभूमि नेपालका लागि डाँगीले के–१२ नवीकरणीय ऊर्जा सम्बन्धी पाठयक्रम विकास गर्न सहयोग गरेका हुन्।

फुलब्राइटको छात्रवृति पाएर पहिलो पटक आफ्नो पहिचान बनाएका डाँगीले कोलम्यान फेलोसिप पाएका थिए । सन् २००५मा नेपालमा स्वर्ण पदक पाएका थिए । सन् २००४मा वर्ष छात्रको पुरस्कार प्राप्त गरेका थिए ।

सन् २०१७देखि अनलाइन इन्स्ट्रक्टरको रूपमा प्रमाणित भएयता वैश्विक महामारीका बेला भर्चुल टिचिङको सेवा दिँदै आएका थिए । उनले विगत केही वर्षदेखि जुम मिटिङ्ग गर्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस !