६ बैशाख २०८१, बिहिबार

गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ गतेको क्रान्ति : सभापति देउवा

प्रकाशित मिति :  19 February, 2021 11:55 am


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको दिन भन्दै प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिएका छन् ।

आज शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले ७० वर्षअघि विसं २००७ कात्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जनक्रान्तिले आजकै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको बताए ।

“राजनीतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्गप्रशस्त गरेको   थियो । मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश गर्यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण गर्यो”, सभापति देउवाले आफ्नो सन्देशमा भनेका छन् ।

समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रित सम्बन्ध हुँदै २०४६ को परिवर्तन र २०६२÷६३ को आन्दोलनमार्फत सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्ति नै भएको उनको भनाइ छ । सभापति देउवाले ऐतिहासिक त्यो घडी सम्भव तुल्याउने शहीद एवं जननायक बिपी कोइरालालगायत अग्रज नेतृत्वप्रति उच्च श्रद्धा र सम्मान व्यक्त गरे ।

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा फागुन ७ को मितिले विशेष ऊर्जा सबैलाई प्रदान गर्नेछ भन्ने उनले विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !