२३ बैशाख २०८१, आइतबार

‘राष्ट्रिय च्याउ जागरण’ अभियान चलाइँदै

प्रकाशित मिति :  23 December, 2019 10:47 pm


काठमाडाैं, ८ पुस

च्याउ उत्पादक किसान सङ्घ, नेपालले च्याउको महत्व बुझाउन मेची–महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ सञ्चालन गर्ने भएको छ । च्याउ किसानका विषयमा राज्य गम्भीर नभएको र उचित प्रचारप्रसारको अभावमा उपभोगको दरसमेत न्यून रहेकाले देशव्यापीरुपमा च्याउको महत्व बुझाउन जागरण अभियान चलाउन लागिएको आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा किसानले बताएका छन् ।

सङ्घका अध्यक्ष प्रेमनारायण अधिकारीले यही पुस ९ गते झापाको काँकडभिट्टाबाट शुरु हुने मेची–महाकाली राष्ट्रिय च्याउ जागरण अभियान पुस २९ गते काठमाडौँमा आएर समापन गरिने जानकारी दिनुभयो । अभियानका लागि काठमाडौँबाट ३५ जना च्याउ उत्पादक किसानको टोली आज त्यसतर्फ प्रस्तान गरेका छन् ।

उहाँका अनुसार च्याउ उत्पादनमा कच्चा पदार्थको अभाव, गुणस्तरीय बीउ र बीमाको समस्या र बजारको अभाव रहेको छ । सरकारले कृषि विभागअन्तर्गत रहेको व्यावसायिक कीट विकास केन्द्रलाई च्याउ क्षेत्र हेर्ने जिम्मेवारी दिएको छ । पटकपटक अनुरोध गर्दा केन्द्रले च्याउ क्षेत्रको समस्यामा गम्भीर नभएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

नेपालमा व्यावसायिकरुपमा च्याउखेती शुरु भएको करीब चार दशकको अवधिमा च्याउको मूल्य अहिलेसम्म बढ्न नसकेको किसानले गुनासो गरेका छन् । नेपालमा कन्ये र गोब्रेका साथै सिताके, मिल्की, ग्यानोडर्मालगायत जातका च्याउको उत्पादन हुँदै आएको छ । कूल मागमध्ये २५ प्रतिशत मात्रै मुलुकमा उत्पादित च्याउले धानेको किसानले बताएका छन् । च्याउखेतीमा निजी क्षेत्रको करीब रु एक अर्ब २५ करोड बराबरको लगानी रहेको किसानले बताएका छन् । आयातित च्याउको प्रयोग भइरहे पनि नेपालमै उत्पादित च्याउको बजारीकरण हुन नसकेको किसानले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !