१५ चैत्र २०८०, बिहिबार

उपप्रधानमन्त्री पोखरेल र अमेरिकी राजदूत बेरीबीच टेलिफोन संवाद, अमेरिलेकाले स्वास्थ्य सामग्री सहयोग गर्ने

प्रकाशित मिति :  13 May, 2021 5:55 pm


काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूत रेन्डी बेरीबीच आज टेलिफोन संवाद भएको छ । उपप्रधानमन्त्री पोखरेलले नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिन अमेरिकी राजदूत बेरीसँग आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

नेपालमा कोराना भाइरसको तीव्र फैलावट रोक्न खोप नै उपयुक्त माध्यम भएकाले त्यसका लागि नेपाल सरकारले अमेरिका सरकारको सहयोग चाहेको तथा अमेरिकी खोपको नेपालमा उत्सुकता र तीव्र प्रतिक्षा रहेको बताएका थिए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक खोप, पूर्वाधार, आवश्यक विज्ञ जनशक्ति र स्वास्थ्य सामाग्री लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको उपप्रधानमन्त्री पोखरेलले बताएका थिए।

राजदूत बेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारको तर्फबाट स्वास्थ्य सामाग्रीहरु सहयोग गरिने जानकारी दिएका छन्। अमेरिकाले अक्सिजन प्लाण्ट, सिलिण्डर तथा भण्डारण ट्यांकहरु उपलब्ध गराउन थप २७ लाख ५० हजार अमेरीकी डलर बराबरको सहयोगको घोषणा गरेको छ ।

अमेरिकी राजदूत बेरीले हप्तामा दुई वटा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाइदिन पनि उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरेका थिए । उपप्रधानमन्त्री पोखरेलले यसका विषयमा आफूहरुले पनि सोचिरहेको भन्दै सिसिएमसीको बैठकबाट आवश्यक निर्णय गरिने जानकारी दिए ।

अमेरिका नेपालको यो विषम अवस्थामा कोभिड नियन्त्रणका लागि तत्काल आवश्यक सामग्रीको यथाशक्य उपलब्धता गराउन निरन्तर प्रयासरत रहेको अमेरीकि दूतावासले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !