३ जेष्ठ २०८१, बिहिबार

माडी जलाशययुक्त जलविद्युत् आयोजनाको सम्पर्क कार्यालय स्थापना

प्रकाशित मिति :  17 January, 2020 11:00 am


रोल्पा, ३ पुस । माडी जलाशययुक्त जलविद्युत् आयोजनाको सम्पर्क कार्यालय स्थापना भएको छ ।

१५६ मेगावाट क्षमताको आयोजनाको बिहिबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आयोजना क्षेत्र माडीचौरमा सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।

बिहिबार विहान कार्यालय उद्घाटन भएसॅगै आयोजनाले स्थलगत सम्भाव्यता अध्ययन थालेको छ । माडी जलाशययुक्त आयोजना प्रदेश नं. ५ कै ठूलो जलविद्युत् आयोजना हुनेछ ।

माडीमा चीन सरकारको स्वामित्व रहेको चीनकै ठूलो जलविद्युत् लगानी तथा उत्पादन कम्पनी पावर चाइना र नेपालको सरकारको स्वामित्वको हाइड्रो इलेक्ट्रिसीटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)को लगानी हुनेछ ।

चीनका राष्ट्रपति सी चीन फिङको नेपाल भ्रमणको क्रममा माडी जलाशययुक्त आयोजनामा चीन र नेपालका सरकारी स्वामित्वको दुई कम्पनीले लगानी गर्ने सम्झौता भएको थियो ।

सम्पर्क कार्यालयको उद्घाटन गर्दै ऊर्जामन्त्री पुनले माडी आयोजना प्रदेश नं ५ कै ‘गेम चेन्जर’ परियोजना हुने बताए । ‘राप्ती बेसीनमा १४ वटा विभिन्न आयोजना सञ्चालन हुँदैछन् । यसमध्येको महत्वपूर्ण यो आयोजना प्रदेश नं ५ कै गेमचेन्जर हुनेछ,’ मन्त्री पुनले भने ।

उनले आयोजना समयमै निर्माण सम्पन्न हुने बताए । ‘यस्ता आयोजनाको सम्भाव्यता अध्ययन दुई वर्ष लाग्छ । तर यो आयोजनाले १८ महिनामा विस्तृत अध्ययन सक्ने र निर्माण प्रक्रियामा जानेछ’ ऊर्जामन्त्री पुनले भने, ‘पावर चाइना र एचआइडीसिएलले यो आयोजनाको निर्माण गर्दैछन् । दुवै अनुभवी कम्पनी हुन् र समयमै गुणस्तरीय रूपमा निर्माण सम्पन्न हुने हाम्रो विश्वास छ ।’



प्रतिक्रिया दिनुहोस !