युरो कप : इटालीको अपराजित यात्रामा बेल्जियमको चुनौती
काठमाडौं । युरो कप फुटबलको सेमिफाइनलमा स्थान बनाउनका लागि आज दुई महारथी टोली इटाली र बेल्जियम भिड्दैछन् ।
जर्मनीको म्युनिखस्थित एलिनाज एरेनामा यी दुई टोली नेपाली समय अनुसार राति पौने १ बजे आमनेसामने हुनेछन्। दुई टोली मुख्य प्रतियोगिताको नकआउट चरणमा भिड्न लागेको यो पहिलो अवसर हो ।
साबिक यूरो कप विजेता पोर्चुगललाई एक शून्यले पराजित गर्दै बेल्जियम अन्तिम आठमा आफनो स्थान बनाउन सफल भएको हो । तर, उक्त खेलमा भने बेल्जियमका स्टार खेलाडी केभिन डी ब्रुयना र इडेन हजार्ड चोटग्रस्त हुँदै मैदान छाड्न बाध्य बनेका थिए ।
दुई प्रमुख खेलाडीको अनुपस्थितले बेल्जियमका लागि सेमीफाइनलको यात्रा सहज हुने छैन।
यस्तै, इटाली अपराजित रहँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको इटालीले अन्तिम आठ मा पुग्नका लागि अस्ट्रियाको कडा चुनौतीको सामना गर्नुपरेको थियो ।
निर्धारित समयमा गोल हुन नसकेपछि अतिरिक्त समयमा २–१ ले विजयी बन्दै टोली क्वार्टरफाइनलमा प्रवेश गरेको हो । इटालीको अपराजित यात्रालाई बेल्जियमले कडा चुनौती दिने अपेक्षा गरिएको छ ।







