७ बैशाख २०८१, शुक्रबार

फलोअप : ३५ हजार रुपैयाँ मात्रै दिएर कोकाकोला कम्पनीले ‘मिलायो’ मृतक मजदुरको क्षतिपूर्ति प्रकरण

प्रकाशित मिति :  18 July, 2021 11:15 am


काठमाडौं । स्वामित्व किनबेच प्रकरणमा कर छली अनुसन्धानमा परेको कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट, बोटलर्स नेपालले गत वर्षदेखि कोरोना र अन्य कारणले मृत्यु भएका मजदुरलाई क्रियाखर्चबापत ३५ हजार रुपैयाँ दिने भनेर मृतक मजदुरको क्षतिपूर्ति मुद्दा ‘मिलाएको’ छ ।

यद्यपि,  यस सम्बन्धमा सामाजिक सुरक्षा कोषमा उजुरी परिसकेकाले त्यस विषयमा भने कुनै निर्णय गरिएको छैन ।

लुम्बिनी सञ्चारले  गत वर्षदेखि कम्पनीमा कार्यरत चार जना मजदूरको मृत्यु भए पनि उनीहरूको परिवारलाई कुनै क्षतिपूर्ति नदिएको र यस विषयमा सामाजिक सुरक्षा कोषमा उजुरी परेको समाचार प्रकासित गरेपछि बोटलर्स नेपाल व्यवस्थापनले बालाजु र भरतपुर दुवै प्लान्टका ६ वटै ट्रेड युनियनका प्रतिनिधिसँग ‘सामूहिक सौदाबाजी’ बैठक राखेर सो क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

“यसअघि कोकमा मजदुरको मृत्यु हुँदा कुनै पनि किसिमको क्षतिपूर्ति दिने व्यवस्था नभएकोमा पहिलो पटक सामूहिक सौदाबाजीमार्फत् मृतकका परिवारलाई क्रियाखर्चबापत ३५ हजार रुपैयाँ दिने सहमति भएको छ,” ट्रेड युनियनसम्बद्ध एक नेताले भने, “यसबाहेक यसअघि कर्मचारी तथा मजदुरका परिवारका सदस्यको मृत्यु हुँदा क्रियाखर्चबापत १५ हजार रुपैयाँ दिने गरिएकोमा अहिले त्यसलाई पनि ३५ हजार रुपैयाँ पुर्‍याइएको छ ।”

सम्बन्धित समाचार:


कोकाकोलाले मृतक मजदूरलाई क्षतिपूर्ति दिएन

कर छली प्रकरणमा परेको कोकका नेपाल प्रमुख फेरिँदै, मजदूरहरू आन्दोलित

प्रधान सम्पादक बुढाथोकी विरुद्ध कोकाकोलाको माइन्युट,महासंघले भन्यो,‘यस्तो निर्णय गर्नेलाई कारबाही गर’


बोटलर्स नेपालका तर्फबाट  प्रिज्मा विज्ञापन एजेन्सीले लुम्बिनी सञ्चारलाई लेखेको इमेलमा भनिएको छ,”कुनै पनि परिस्थितिमा हाम्रा सहयोगीहरूको मृत्यु हुँदा कम्पनीले कम्पनीको नीतिअनुसार क्षतिपूर्तिसहित सबै आवश्यक सहयोग प्रदान गर्दछ। कम्पनी सामाजिक सुरक्षा कोषमा दर्ता छ र निर्धारित समय सीमाभित्र कोषमा योगदान दिने विचार गरिरहेको छ ।”

लुम्बिनी सञ्चारबारे खोजबिन गर्न समिति

बोटलर्स नेपालले लुम्बिनी सञ्चार डटकम  र टक्सार आर्थिक म्यागजिनमा कोकाकोला कर छली प्रकरणबारे समाचार सम्प्रेषणका विषयमा खोजबिन गर्न कांग्रेससम्बद्ध ट्रेड युनियनका प्रतिनिधिको सं‍योजकत्वमा ३ सदस्यीय ‘खोजबिन समिति’ बनाएको छ । यस विषयमा बोटलर्स नेपालका व्यवस्थापक र ६ वट‍ै ट्रेड युनियनबीच सामूहिक सौदाबाजीको निर्णय पुस्तिकामै हस्ताक्षर गराइएको छ ।

“मिडियामा आएको समाचारका विषयमा सामूहिक सौदाबाजीको निर्णयमा व्यवस्थापनका तर्फबाट पत्रकारको नामै ताेकेर जर्बजस्ती लेखाएर छानबिन गर्न दबाब दिइएको छ, यो कसरी मजदुरसँग सम्बन्धित विषय भयो, हामी छक्क परेका छौं,‌” मजदुर युनियनका एक नेताले भने ।

त्यो समितिलाई लुम्बिनी सञ्चारका प्रधान सम्पादक, सम्पादकहरूबारे जानकारी संकलन गर्न  र समाचारका स्रोतहरू पत्ता लगाउन निर्देशन दिइएको बोटलर्स स्रोतले बतायो ।

उक्त निर्णयको नेपाल पत्रकार महासंघले आपत्ति जनाइसकेको छ । महासंघले बोटलर्स नेपालको उक्त निर्णय गर्ने व्यवस्थापन पक्षलाई कानुनी कारबाही गर्न माग समेत गरेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !