२ जेष्ठ २०८१, बुधबार

गणित विषयलाई पाठ्यक्रम प्रारुपबाट नहटाउन माग

प्रकाशित मिति :  27 January, 2020 5:44 pm


काठमाडौं, १३ माघ । विषयलाई नयाँ पाठ्यक्रम प्रारुपबाट हटाइएपछि त्यसको विरोध सुरु हुन थालेको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर सरोकारवालाहरुले गणित विषयलाई नयाँ पाठ्यक्रम प्रारुप–२०७६ बाट ओझेल पारिएको भन्दै विरोध गरेका हुन् । गणितका विज्ञहरुले गणितलाई अनिवार्य गरिनुपर्ने माग गरेका छन् ।

उनीहरुले ‘गणित विज्ञानको पनि विज्ञान’ भएको भन्दै पाठ्यक्रम प्रारुपमा समेट्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै पाठ्यक्रम विकास केन्द्र विषय समितिका अध्यक्ष प्रा.डा.राममान श्रेष्ठले आफूसँग कुनै परामर्शसमेत नगरी पाठ्यक्रम प्रारुपको समितिमा विज्ञको रुपमा राखेको भन्दै कडा आपत्ति जनाए । उनले भने, ‘मलाई थाहै नदिईकन समितिमा राखिएको रहेछ, मैले प्रारुप आएपछिमात्रै थाहा पाएँ । यस्तो बैठकमा मलाई कहिल्यैपनि बोलाईएन, र म गएको पनि छैन् ।’

कार्यक्रममा त्रिवि गणित केन्द्रीय विभागका प्रमुख प्राडा टंकनाथ धमलाले कम्तिमा विज्ञान पढ्ने विद्यार्थीलाई गणित अनिवार्य र अरु विषयलाई ऐच्छिक राख्नुपर्नेमा जोड दिए । प्राध्यापक धमलाले भने,‘स्कुलमा गणित विषयमा अनुतिर्ण भएको डेटा देखाउँदै ११ र १२ कक्षामा गणित कठिन भयो भन्नु लज्जास्पद विषय हो ।’

त्यस्तै, नेपाल गणित समाजका सभापति प्राडा चेतराज भट्टले अहिले ल्याइएको प्रारुपमा गणित तथा विज्ञानका विद्यालाई ओझेलमा पार्नु दुःखको विषय भएको टिप्पणी गरे । उनले दातृसंस्थाले दिएका अनुदानलाई हेरेर उत्तिर्ण प्रतिशत बढाउने नाममा गणितलाई यसरी ओझेलमा पार्नु गलत भएको स्पष्ट पारे ।

त्यस्तै, त्रिवि इन्जिनियरिङ संस्थानका सहायक डिन प्राडा ज्ञानबहादुर थापाले हालै त्रिविको अध्ययन संस्थानमा प्रवेश परीक्षामा गणितको भार ४० बाट ५० अंक बनाइएको जनाउँदै गणितको महत्व इन्जिनियरिङ पढ्ने विद्यार्थीको लागि कति छ भन्ने कुरा पुष्टि भएको बताए ।

कार्यक्रममा त्रिवि गणित शिक्षा केन्द्रीय विभागका विभागीय प्रमुख प्राडा वेदराज आचार्यले गणित विषयलाई अनिवार्य रुपमा पाठ्यक्रममा नसमेटिँदा गणित पढ्न इच्छुक विद्यार्थी बञ्चित हुनुपर्ने बाध्यता औंल्याए ।

कार्यक्रममा नेपाल गणित समाजका सह–सचिव तथा केन्द्रीय गणित विभागका उपप्रध्यापक डा.जीवन काफ्लेले गणित प्राकृति र सामाजिक विज्ञानको अध्ययनमा अधिकतम उपयोग हुने विषय भएको सुनाउँदै यो विषको जगबिना अन्य कुनैपनि विषयको दक्षता हाँसिल गर्छु भन्नु जगबिनाको गगनचुम्बी महलको कल्पना गर्नुमात्रै भएको टिप्पणी गरे ।

कार्यक्रममा वमुन अफ नेपाल ईन म्याथमेटिकल साईन्स (ओनिम्स्) का उपाध्यक्ष डा.नीलम सुवेदीले विगत दुई वर्षभन्दा अघिदेखि आफूहरुले पाठ्यक्रम प्रारुपको बारेमा बारम्बार सचेत गराएको बताउँदै भनिन्,‘हामीले सेचत गराउँदा गराउँदै गणित विषयलाई पाठ्यक्रम प्रारुपमबाट बेवास्ता गरियो, यो दुःखदायी कुरा हो ।’



प्रतिक्रिया दिनुहोस !