१२ श्रावण २०८१, शनिबार

थ्रीस्टारलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा

प्रकाशित मिति :  27 January, 2020 6:16 pm


काठमाडौं, १३ माघ । काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको खेलमा जित हात पार्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको छ ।

उपाधिको दाबेदार मानिएको थ्रीस्टारविरुद्धको खेलमा मछिन्द्र २–० गोल अन्तरले विजयी भएको हो ।

सोमबार दशरथ रंगशालामा भएको खेलमा अर्को दावेदार टोली थ्रीस्टार क्लबमाथि २–० को जित निकाल्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको छ ।
मछिन्द्रलाई जिताउन खेलको ३८औं मिनेटमा रेजिन सुब्बाले तथा ९० औं मिनेटमा विशाल राईले एक–एक गोल गरेका थिए ।

मछिन्द्र ९ खेलबाट १९ अंकसहित शीर्ष स्थानमा पुगेको छ । एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लब १७ अंकसहित दोस्रो स्थानमा छ ।

साविक विजेता मनाङ–मर्स्याङ्दी क्लब १६ अंकसहित तेस्रो स्थानमा छ । १४ अंकको थ्रीस्टार चौथो स्थानमा यथावत् छ ।

यसैबीच सोमबार नै भएको खेलमा जित हात पार्दै नेपाल पुलिस क्लब पाँचौं स्थानमा पुगेको छ । सोमबारै दशरथ रंगशालामा भएको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १–० ले हराउँदै पुलिस पाँचौं स्थानमा पुगेको हो ।

पुलिसलाई जिताउन कप्तान भोलानाथ सिलवालले खेलको १३औं मिनेटमा निर्णायक गोल गरे । पराजित सशस्त्र ५ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस !