५ जेष्ठ २०८१, शनिबार

बजेटको आकार डेढ खर्ब घटाइयो, ८.५% आर्थिक वृद्धिको लक्ष्य पूरा हुन कठिन

प्रकाशित मिति :  13 February, 2020 9:38 am


काठमाडाैं, १ फागुन। सरकारले चालू आर्थिक वर्षको बजेट खर्च र राजस्व संकलनको लक्ष्य उल्लेख्य रूपमा घटाएको छ ।

बलियो र स्थायी सरकारले प्रभावकारी रूपमा काम गर्न नसक्दा बजेटका सबै लक्ष्यबाट पछि हट्नुपरेको हो । चालू आर्थिक वर्षको मध्यावधि समीक्षा गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कुल बजेट खर्च १३ खर्ब ८५ अर्ब र राजस्व संकलन १० खर्ब ५६ अर्ब रुपैयाँ हुने संशोधित अनुमान गरेका छन् ।

‘पुँजीगत बजेट ४ खर्ब ८ खर्ब विनियोजन भएकोमा ६ महिनाको प्रगतिका आधारमा ३ खर्ब २७ अर्ब मात्रै खर्च हुने अनुमान छ, जुन ८० प्रतिशत मात्रै हो,’ अर्थमन्त्री खतिवडाले भने । आर्थिक वर्ष सुरु भएको ६ महिना सकिँदासम्म पुँजीगत खर्च १५ दशमलव ३८ प्रतिशत मात्र भएको छ ।

कुल खर्चको संशोधित अनुमान चालू आवमा लिइएको लक्ष्यभन्दा झन्डै १० प्रतिशतले कमी हो । त्यस्तै, राजस्वको संशोधित अनुमान चालू आवमा लिएको लक्ष्यभन्दा ५ प्रतिशतले कमी हो । राजस्व संकलन ११ खर्ब १२ अर्ब रुपैयाँ हुने महत्वाकांक्षी लक्ष्य बजेटको थियो ।

मध्यावधि समीक्षामार्फत अर्थमन्त्रीले पुँजीगत खर्च र राजस्व संकलन लक्ष्यअनुरूप नहुने, कृषि उत्पादन घटेको, पूर्वाधार निर्माणको गति सुस्त भएको, राष्ट्रिय गौरवका आयोजनाको प्रगति कमजोर रहेको, समग्र व्यापारमा कमी आएको तथ्यांक प्रस्तुत गरेका छन् ।

तर, उच्च आर्थिक वृद्धिलाई सघाउने अधिकांशः क्षेत्र कमजोर बन्दा पनि आर्थिक वृद्धिदर भने लक्ष्यको हाराहारीमै हुने अर्थमन्त्रीको दाबी छ । यस वर्षको बजेटले साढे ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरेको छ । विश्व बैंकले पनि चालू आर्थिक वर्षमा वृद्धिदर ६ दशमलव ४ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्ष २०७५/७६ मा ७ दशमलव १ प्रतिशत आर्थिक वृद्धि हासिल भएको नयाँ पत्रिका दैनिकमा समाचार छ ।



प्रतिक्रिया दिनुहोस !