२४ बैशाख २०८१, सोमबार

ह्वाट्सएपका प्रयोगकर्ता २ अर्ब नाघे

प्रकाशित मिति :  13 February, 2020 2:59 pm


 सान फ्रान्सिस्को,१ फागुन ।

फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपका प्रयोगकर्ता दुई अर्बभन्दा बढी पुगेको फेसबुकले बुधबार जनाएको छ ।

मेसेन्जरझैं सञ्चार सेवा उपलब्ध गराउने ह्वाट्सएपलाई अझ बढी विश्वसनीय र सुरक्षित बनाउन ध्यान दिइने फेसबुकले प्रतिबद्धता व्यक्त गरेको छ ।

फेसबुकले विश्वभर निकै लोकप्रियता कमाएको ह्वाट्सएप सञ्चार सेवालाई सन् २०१४ मा किनेको थियो ।ह्वाट्सएपमा निःशुल्क सञ्चार सेवाका साथै भ्वाइस र भिडियो सेवा पनि उपलब्ध छ ।

दुई अर्ब प्रयोगकर्ताको एउटा विशिष्ट कोसेढुंगा पार गर्न सफल भएकामा कम्पनीले गर्वको महसुस गरेको ह्वाट्सएपको ब्लगपोस्टमा लेखिएको छ ।

कम्पनीले व्यक्तिका निजी सूचनालाई अझ बढी विश्वासिलो ढंगबाट सुरक्षित गरिने र कसैले सहजै भंग गर्न नसक्ने परिस्थिति निर्माण गरिने जनाएको छ ।

अमेरिकी सरकारले ह्वाट्सएप, मेसेन्जर, भाइबरजस्ता सञ्चार सेवाका सन्देशहरुमा राज्यका निकायको पहुँच बढाउनु पर्ने दाबी गर्दै आएको सन्दर्भमा फेसबुकले व्यक्तिका गोपनीय सूचनाको संरक्षणलाई अझ बलियो बनाउन चाहेको बताएको छ ।

गत साता, बाल सुरक्षा संघ–संस्थाहरुले फेसबुकसमक्ष बलिया ‘इन्क्रिप्सन’ योजना लागू गर्दा बाल यौनदूराचारीले अनुचित फाइदा उठाउन सक्ने भन्दै यस्तो योजना स्थगित गर्न आग्रह गरेका छन् ।

ह्वाट्सएपका कर्मचारीले परीक्षणका रुपमा प्रयोग गरिरहेको इन्क्रिप्सन निकै बलियो रहेको र त्यसका डाटा कुनैपनि सरकारी निकायले अध्ययन गर्न नसक्ने देखिएको छ । रासस/एएफपी



प्रतिक्रिया दिनुहोस !