३१ भदौ २०८३, बुधबार

विपद् व्यवस्थापनमा एआई र ड्रोन प्रयोग गर्ने तयारी : मन्त्री पुन

प्रकाशित मिति :  16 September, 2026 2:58 pm


काठमाडौँ। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद्का समयमा उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन एआई, भू–उपग्रह, ड्रोन र रोबोटिक्सको प्रयोग गर्ने तयारी भइरहेको बताएका छन्।

बुधबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री पुनले एआई र भू–उपग्रहमा आधारित पूर्वचेतावनी प्रणाली विकास गर्ने तथा विपद्को वास्तविक समयको निगरानी र पूर्वानुमानका लागि ‘सिचुएसन रुम’ निर्माण गर्ने तयारी भइरहेको जानकारी दिए।

उनले नेपालमै भारी क्षमताका ड्रोन उत्पादन गर्ने लक्ष्यसहित काम अघि बढाइएको बताए। हाल चीन र संयुक्त अरब इमिरेट्स ९यूएई० बाट ८० देखि १०० किलोग्रामसम्म सामग्री बोक्न सक्ने ड्रोन सहयोगस्वरूप प्राप्त भएको उनले जानकारी दिए। यस्ता ड्रोन खरिद गर्दा महँगो पर्ने भएकाले भविष्यमा नेपालमै उत्पादन गर्ने सम्भावनाबारे अध्ययन भइरहेको उनको भनाइ छ।

मन्त्री पुनले हिमताल विस्फोट, पहिरो र भूकम्प मापनलगायतका विषयमा अनुसन्धान गरी त्यसलाई व्यावहारिक प्रयोगमा ल्याउने तयारी भइरहेको बताए। वैज्ञानिक प्रयोगशाला तथा मापन केन्द्रहरूको मर्मतसम्भार र पुनःस्थापनालाई पनि प्राथमिकता दिइएको उनले जानकारी दिए।

रसुवा बाढीमा मृत्यु भएकाको पहिचानका लागि नास्ट र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षण भइरहेको पनि मन्त्री पुनले बताए। नास्टमा दैनिक ४० देखि ५० नमुना परीक्षण भइरहेको र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मृतकका १ हजार ५६२ वटा नमुना प्राप्त भएको उनले जानकारी दिए। बुटवलमा हराइरहेका व्यक्तिका आफन्तबाट ९८ जनाको डीएनए नमुना संकलन तथा परीक्षण प्रक्रिया अघि बढाइएको उनले बताए।

राहत सामग्री विदेशबाट जहाजमार्फत दैनिक दुई–तीन ट्रिपसम्म आइरहेको र त्यसको व्यवस्थापनमा मन्त्रालयले सहजीकरण गरिरहेको पनि मन्त्री पुनले जानकारी दिए। नास्टले आवश्यक स्थानमा पठाउन साना सौर्य बत्ती एसेम्बल गर्ने कामसमेत गरिरहेको उनले बताए।



प्रतिक्रिया दिनुहोस !