३१ भदौ २०८३, बुधबार

नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा छौँः सभामुख अर्याल्

प्रकाशित मिति :  16 September, 2026 2:43 pm


काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपालको संसदीय इतिहासलाई दीर्घकालीन रूपमा सुरक्षित राख्न विगतका संसदीय दस्तावेज खोजी गरी डिजिटलाइज गर्ने तयारी भइरहेको बताएका छन्।

बुधबार डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुभारम्भ कार्यक्रममा बोल्दै सभामुख अर्यालले आगामी पाँच सय वर्षपछि पनि नेपालको संसदीय इतिहास खोज्न र अध्ययन गर्न सकिने गरी डिजिटल अभिलेख तयार पार्ने लक्ष्य रहेको बताए।

उनका अनुसार संसद् बैठकमा सांसदहरूले व्यक्त गरेका अडियो तथा भिडियो सामग्रीसमेत सुरक्षित अभिलेखका रूपमा राखिनेछ। पुराना संसदीय दस्तावेज भेटिएसम्म डिजिटलाइज गरी प्रणालीमा समेटिने उनले बताए।

‘आगामी दिनमा हाम्रा सबै कार्यक्रमलाई यसमा समेटेर राखेर अबको पाँच सय वर्षपछि पनि नेपालको इतिहास भेट्न सकियोस्, खोज्न सकियोस्,’ उनले भने।

अर्यालले संघीय संसद् मात्र नभई कार्यपालिका, न्यायपालिका तथा तीनै तहका सरकारका सेवा प्रवाहलाई समेत नागरिकमुखी र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए।

परीक्षण चरणमा रहेको डिजिटल पार्लियामेन्ट प्लेटफर्ममा केही त्रुटि वा अपूर्णता हुन सक्ने भन्दै उनले प्रयोगकर्ताको सुझावका आधारमा प्रणालीलाई थप सहज, छिटो र युजर–फ्रेण्डली बनाइने बताए। प्रणालीलाई अपाङ्गतामैत्री बनाउँदै सबै नागरिकको पहुँचमा पुर्‍याउने लक्ष्य रहेको पनि उनले उल्लेख गरे।



प्रतिक्रिया दिनुहोस !