७ बैशाख २०८१, शुक्रबार

महामारीपछिकाे पर्यटन पूर्वाधार

प्रकाशित मिति :  4 October, 2021 11:57 am


फाइल फोटो

भद्र शर्मा

कोरोना महामारीबीच सगरमाथा लगायतका हिमालमा भएको आरोहणले पर्यटकविहीन भएका हिमाल क्षेत्रमा केही हप्ता चहलपहल देखियो ।
पर्यटन विभागका अनुसार यस पटकको वसन्तकालीन हिमाल आरोहणबाट ५४ करोड ९२ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ । सगरमाथा आरोहणका लागि ४०८ जना पर्वतारोहीले आरोही अनुमति लिएका थिए । हरेक पर्वतरोहीबाट ११ हजार डलरका दरले संकलन हुने रोयल्टीबापत सगरमाथा आरोहणबाट मात्रै ४९ करोड रुपैयाँ राजस्व संकलन भयो ।

सगरमाथा आरोहणका लागि अनुमति लिनेहरूको संख्या हाल सम्मको धेरै हो । सन् १९५३ मा न्युजिल्यान्डका एडमण्ड हिलारी र नेपाली शेर्पा नायक तेन्जिड नोर्गे शेर्पाले सगरमाथा हिमालको सफल आरोहण गरेदेखि हालसम्म यति धेरै संख्यामा हिमाल आरोहणको अनुमति जारी भएको थिएन । अन्य हिमालमा पनि आरोहीको लर्को नै लाग्यो ।

सरकारले लिने रोयल्टीभन्दा पाँच गुणासम्म बढी आरोहण शुल्क लिएर कम्पनीले विदेशी आरोहीलाई आरोहण गराउने भएकाले ठूलो वैदेशिक मुद्रा भित्रियो, पर्वतारोहणका कारण । आरोहणसँग सम्बन्धी अन्य व्यापार–व्यवसाय बढ्यो । सयाँै शेर्पा र सहयोगीले रोजगारी पाए । ठप्पप्रायः भएको होटलमा पर्यटकका रूपमा आरोही देखिए । कोरोना महामारीका कारण अघिल्लो वर्ष आरोहण रोकिएका कारण पर्वतारोहणमा आश्रित लाखौको रोजगारी गुमेको थियो ।

उल्लेख्य उत्साहबीच केही हिमालमा आरोहण सफल भएनन् । आधार शिविरमा फैलिएको कारोना संक्रमण र एक हप्ताको बीचमा दुइ पटक आएको चक्रवतका कारण ती पर्वतारोहण असफल भए । यसले गर्दा आरोहण अनुमति लिएका मध्ये आधा भन्दा कम आरोहीले मात्र सगरमाथाको आरोहण गर्न सफल भए । बाँकी सबैजसो लाखौ खर्च गरेर भएपनि एक पटक सगरमाथा आरोहण गर्ने जीवनको सपना पुरा नगरेरै फर्किए । धौलागिरी आरोहण रद्द नै गर्नु प-यो ।

कोरोना र मौसमी प्रतिकूलताका कारण सगरमाथा आरोहणको अपुरो सपना लिएर फर्केका कारण भविष्यमा धेरै सकारात्मक खबर हुन नसक्ने खतरा भएपनि पर्वतारोहणका कारण पर्यटकीय चहलपहल बढ्यो । तर, पर्वतारोहणले मात्रै नेपाली पर्यटनमा आश्रितहरूको जीविकोपार्जन सुनिश्चित गर्ला ?

ट्रेकिङ, साहसिक र मनोरन्जन जस्ता गतिविधिहरू विगत दुई वर्षदेखि ठप्प छन्। ती क्षेत्रमा रहेका व्यवसायी र कामदारहरू पलायन भइसकेका छन्। जीविकोपार्जनका लागि उनीहरूमध्ये कतिपय कृषि कर्ममा फर्किएका छन्।

पर्वतारोहण मात्रै पर्यटनमा केही होइन । पर्यटनको अर्को पक्ष पनि छ । अर्थतन्त्र र रोजगारीका लागि पर्यटनसँंग सम्बन्धित अन्य व्यवसाय सुचारु हुन पनि उत्तिकै जरुरी छ । पर्यटन व्यवसाय र यसमा आश्रित जनसंख्याको आधारमा पर्वतारोहणले कुल पर्यटनको १० प्रतिशत हिस्सा मात्र समेट्छ । ट्रेकिङ, साहसिक र मनोरन्जन जस्ता गतिविधिहरू विगत दुई वर्षदेखि ठप्प छन् ।

ती क्षेत्रमा रहेका व्यवसायी र कामदारहरू पलायन भइसकेका छन् । जीविकोपार्जनका लागि उनीहरूमध्ये कतिपय कृषि कर्ममा फर्किएका छन् । पर्यटक नआएका कारण पर्यटनमा आधारित उद्योग व्यवसाय थला परेका छन् । होटल, टे«किड, हवाई उडान, व्यापारमा निर्भर लाखाँै बेरोजगार भएका छन् ।

तसर्थ, पर्यटक फर्किएर सबै पर्यटन गतिविधि नियमित नहुँदा सम्म पर्यटनले गति लिन सक्दैन । पर्यटन गतिविधि पूर्णरुपमा खुला हुनका लागि अन्तर्राष्ट्रिय प्रतिबन्धहरू हट्नु पर्छ र स्वास्थ्य महामारी पूर्ण नियन्त्रण वा संक्रमण नियन्त्रण हुनुपर्छ ।

अहिले पनि निकै थोरैले मात्र खोप लगाएकाले नेपालमा अहिले पनि तेस्रो लहरको जोखिम कायमै छ । कारोनाको जोखिम रहँदासम्म विदेशी पर्यटकहरू नेपालमा आउने सम्भावना छैन । घुमफिरकै क्रममा कोरोना संक्रमण भइहाले भरपर्दो उपचारको व्यवस्था छैन । सोही तथ्यलाई देखाएर अहिले पनि अमेरिकी तथा युरोपेली मुलुकले नोपललाई सुरक्षित गन्तव्यको रुपमा लिएका छैनन् । बरु, उनीहरूका नागरिकलाई आति आवश्यक काम नपरी नेपाल नजान आग्रह गरिरहेका छन् ।

थुप्रै मुलुकले जारी गरेको ‘ट्राभल एड्भाइजरी’मा नेपाल रातो सूची अर्थात् जोखिमकै सूचीमा छ । यस्तो अवस्थामा आगामी दिनमा पर्वतारोहण के होला भन्ने संशय बाँकी नै छ । पर्वतारोहण नै सुचारु नभए अन्य पर्यटकीय गतिविधिहरूको कम सम्भावना रहन्छ ।

स्थिति सामान्य भयो भने पनि पर्यटकको ओइरो नै लाग्ने अवस्था नआउन पनि सक्छ किनकी, विश्वमा कोरोनाको असर नपरेको कुनै देश र क्षेत्र छैन जहाँ कारोनाको असर नपरेको होस्। हरेक देशमा बेरोजगारीको समस्या चुलिएको छ ।

अहिलेको अवस्थामा खोप अभियान जारी रह्यो र कोरोना नियन्त्रणमा आयो भने आगामी वर्षदेखि ट्रेकिङ र अन्य पर्यटकीय गतिविधि सुरू हुन्छन् कि भन्ने झिनो आशा छ । तर ढुक्क हुने अवस्था छैन । स्थिति सामान्य भयो भने पनि पर्यटकको ओइरो नै लाग्ने अवस्था नआउन पनि सक्छ किनकी, विश्वमा कोरोनाको असर नपरेको कुनै देश र क्षेत्र छैन जहाँ कारोनाको असर नपरेको होस् । हरेक देशमा बेरोजगारीको समस्या चुलिएको छ । आर्थिक संकटले धनी–गरिब सबै प्रताडित भएका छन् ।

घरपरिवारमा सामान्य गाँसबासको जोहो नगरी कुनै नागरिक पनि विदेश सयरमा निस्कन सक्दैन । तसर्थ, नेपालमा आउने पर्यटकको संख्यामा पनि तुरुन्तै सुधार नआउन सक्छ । खोपको उपलब्धताले कोरोना नियन्त्रण भएर आर्थिक गतिविधि पूर्णरूपमा पुनः सुरू हुन समय लाग्न सक्छ । तर, पनि भौगोलिक सुन्दरता र विभिन्न सहासिक पर्यटकीय गतिविधिका कारण नेपाल अहिले पनि भ्रमण गर्नैपर्ने स्थानको रुपमा रहेको छ । ढिलो–चाँडो जहिले भए पनि अवस्था सुध्रने बित्तिकै उनीहरू एकपटक नेपाल त फर्कन्छन नै ।

त्यस्तो अवस्थामा हाम्रो अहिलेको पूर्वाधार संरचनाले पर्यटकको भार थेग्ला ? हरेक वर्ष स्तरीय होटल होटलको संख्या बढिरहेको छ । तर, पर्याप्त भने छैन ।

त्यसका लागि अहिले पर्यटन पूर्वाधारमा लाग्नु सबैभन्दा महत्वपूर्ण प्राथमिकता हो । नेपालमा अहिले पनि पर्याप्त पर्यटन पूर्वाधारको निर्माण भएको छैन । काठमाडाैं, पोखरा, चितवन र धरान लगायतक केही ठूला सहरमा होटलको व्यवस्था भए पनि धेरै स्थानमा होटल लगायतका पर्यटकीय पूर्वाधारको विकास भएको छैन । निजी क्षेत्रले पनि आक्रामक रुपमा ती पूर्वाधार निर्माण गरेर पर्यटन विस्तारलाई तयार छैन ।

कोरोनाका कारण स्थगित नेपाल भ्रमण वर्ष अन्तर्गत २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्रस्तुत गरिएको बेला पनि पर्यटन पूर्वाधार बाधक हुने तर्क गरिएको थियो । पूर्वाधार अभावको समस्यालाई सम्बोधन गर्नका लागि कोरोनाकाल एउटा अवसर बनेर आएको छ । तर, यो समयलाई अवसरमा बदल्ने कि यत्तिकै खेर फाल्ने सरकार, निजी क्षेत्र, पर्यटन व्यवसायी र स्थानीय तहमा निर्भर रहन्छ । पर्यटन शिथिल भएको मौका छोपेर धमाधम पर्यटन पूर्वाधार निर्माण गर्न सके आगामी दिनमा नेपाल आउने अतिथिलाई सहजै व्यवस्थापन गर्न सकिन्छ ।

केही पर्यटन व्यवसायीले कोरोनाकालमा होटल, रेष्टुरेन्ट विस्तार र नयाँ निर्माण कार्यलाई निरन्तरता दिएका छन् । तर सबैले यो समयलाई पूर्वाधार विकासका लागि सदुपयोग गर्न सकेका छैनन् ।

पूर्वाधार अभावको समस्यालाई सम्बोधन गर्नका लागि कोरोनाकाल एउटा अवसर बनेर आएको छ। तर, यो समयलाई अवसरमा बदल्ने कि यत्तिाकै खेर फाल्ने सरकार, निजी क्षेत्र, पर्यटन व्यवसायी र स्थानीय तहमा निर्भर रहन्छ।

आर्थिक अभाव वा दूरगामी सोचको कमीले होला, उनीहरू भविष्यको लगानीमा केन्द्रित भएका छैनन् । सरकारले उनीहरूलाई त्यसतर्फ प्रेरित गर्न सकेको छैन । सहुलियत ऋणको व्यवस्था गरेर उनीहरूलाई पर्यटन पूर्वाधारका लागि प्रेरित गर्न सकेको खण्डमा लकडाउनका कारण काम नपाएकाहरूका लागि रोजगार र पूर्वाधारको निर्माण एकसाथ हुन सक्थ्यो । सबैभन्दा महत्वपूर्ण त भविष्यमा जति पर्यटक आए पनि उनीहरूलाई व्यवस्थापन गर्न सकिने पूर्वाधार निर्माण हुन्छन् ।

सुविधा सम्पन्न होटल, रेष्टुरेन्ट र अन्य साहसिक खेलका लागि पूर्वाधार निर्माणका साथै नयाँ पदमाको पहिचान र पदमार्ग मर्मतको निर्माण पनि उत्तिकै महत्वपूर्ण छ । सोलुखुम्बुको पासाड ल्हामु गाउँपालिकाले पदमार्ग निर्माण र मर्मतको राम्रो अभ्यास सुरु गरेको भए पनि अन्य पर्यटकीय क्षेत्रमा पर्ने स्थानीय तह, प्रदेश र संघले अनुसरण गर्न सकेका छैनन् । पर्यटन क्षेत्रमा गरिने पूर्वाधार निर्माणको कार्य बेरोजगार स्थानीयका लागि आयआर्जनको आधार पनि हुन सक्छ ।

पछिल्लो समयमा आएको विनाशकारी बाढी पहिरोले मनाङ, मुस्ताङ, गोरखा, सिन्धुपाल्चोक जस्ता पर्यटकीय क्षेत्रमा टेकिड रुट भत्किएका र बगाएको अवस्था छ । ती रुटको मर्मत सम्भार नगरी भोलिका दिनमा पर्यटनलाई सहज बनाउन सकिँदैन । जलवायु परिवर्तनजन्य विपद्का पर्यटकीय क्षेत्रको रुपमा स्थापित भइसकेका मनाङ, माथिल्लो मुस्ताङ, मनास्लु लागयतका क्षेत्रमा ठूलो क्षति भएको छ । तिनलाई पुनः यथास्थितिमा ल्याउन लामो समय लाग्नेछ ।

टक्सार म्यागजिन, भाद्र २०७८ मा प्रकाशित



प्रतिक्रिया दिनुहोस !