८ बैशाख २०८१, शनिबार

साफको उपविजेता नेपाली फुटबल टोली स्वदेश फिर्ता

प्रकाशित मिति :  18 October, 2021 2:27 pm


तस्वीरः एन्फाको वेबसाइटबाट ।

काठमाडौं । माल्दिभ्समा आयोजना भएको १३औँ साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी आज स्वदेश फर्किएका छन् ।

साफ च्याम्पियनसिपको करिब २८ वर्षपछि नेपाल पहिलो पटक फाइनल पुगेको थियो । माल्दिभ्सको मालेमा शनिबार राति भएको फाइनल खेलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

फाइनलमा पराजित भएपछि पहिलो पटक साफको उपविजेता बनेको नेपाली फुटबल टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

त्यस्तै नेपाली टोलीलाई स्वागत गर्न फुटबल समर्थककोसमेत बाक्लो उपस्थिति रहेको थियो । उनीहरुले ‘थ्याङ्क्यु अब्दुल्लाह’ भन्दै नारा लगाएका थिए । प्रशिक्षक अल्दुल्लाह अल्मुताइरी भने माल्दिभ्सबाटै कुवेत प्रस्थान गरेका थिए ।
अल्मुताइरीले फाइनल खेलपछि भने दुई साता आराम गर्ने र त्यसपछि मात्र नेपाल फर्कने वा नफर्कने अन्तिम निर्णय लिने बताएका छन् ।

विभिन्न पाँच राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो भने भारतले लिगको शीर्ष स्थानमा रहँदै फाइनल खेलेको थियो । लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलङ्कालाई हराएको थियो ।

यस्तै भारतसँग पराजित भएको नेपालले बङ्गलादेशसँग बराबरी खेलेको थियो । १३ औँ संस्करणसम्म आइपुग्दा भारतले भने आठौँ पटक साफ च्याम्यिनसिपको उपाधि चुम्न सफल भयो । रासस



प्रतिक्रिया दिनुहोस !