७ बैशाख २०८१, शुक्रबार

‘ढुङ्गा व्यापार’ले सडक निर्माणमा अवरोधः अर्थमन्त्री

प्रकाशित मिति :  5 November, 2021 2:12 pm


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडक मार्गअन्तर्गत चन्द्रागिरी–चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने बताएका छन् । आफूले चन्द्रागिरी–चित्लाङ खण्डमा ढुङ्गाको व्यापार गरिरहेको सुनेकाले त्यस्तो व्यापार तत्काल बन्द गरी काम सुचारु गर्ने मन्त्री शर्माले प्रतिबद्धता जनाएका हुन् ।

शुक्रबार राजधानीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले ‘व्यापार’का कारण भइरहेको ढिलासुस्तीको अन्त्य गर्न तत्काल पहल गर्ने बताएका हुन् ।

“चन्द्रागिरीको विकासका लागि सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म म पहल र वातावरण निर्माण गर्ने प्रयत्न गर्नेछु”, मन्त्री शर्माले भने, “यहाँको अहिलेको ठूलो समस्या भनेको गणेशमान सिंह मार्गको चित्लाङ खण्डमा ढिलासुस्ती भएर यो मार्ग व्यापारतिर लागेको भन्ने सुनेको छु । त्यो ढुङ्गाको व्यापार अन्त्य गरेर छिटोभन्दा छिटो यो सडक निर्माण गर्न मैले तत्काल पहलकदमी लिनेछु ।”

अर्थमन्त्री शर्माले काठमाडौंको ट्राफिक जामलाई कम गर्न चन्द्रागिरी क्षेत्रमा बसपार्क र सामुदायिक अस्पताल निर्माणको पहल समेत गर्ने बताए ।

यसैगरी गरिब ऋणीहरूको ऋण चुक्ता गरिदिएर नेपाल सम्वत्को सुरुवात गर्ने शङ्खधर साख्वाको सपना पूरा गर्न प्रयत्न गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

“११४२ वर्षअघि सुरु भएको शङ्खधरको अभियान अझै बाँकी छ । गरिबहरूको ऋणमोचन गर्न बाँकी छ, उनीहरूलाई आत्मनिर्भर बनाउनु छ”, उनले भने, “शङ्खधरको त्यो बेलाको सपना पूरा गर्न अझै बाँकी छ । त्यो दायित्व हाम्रो काँधमा छ । यस अभियानमा लाग्न सबैलाई आग्रह छ ।”

शङ्खधर साख्वालाई तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका पालामा राष्ट्रिय विभूती घोषणा गरिएको थियो । त्यस्तै पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्का रूपमा मान्यता दिइएको थियो ।



प्रतिक्रिया दिनुहोस !