६ पुस २०८२, आइतबार

आन्दोलनरत कानुन व्यवसायीलाई धर्नास्थलमा जान रोकेपछि सर्वोच्च परिसरमा घम्साघम्सी

प्रकाशित मिति :  19 November, 2021 11:52 am


काठमाडौं । आन्दोलनरत कानुन व्यवसायी र प्रहरी बीच सर्वोच्च अदालत परिसरमा घम्साघम्सी भएको छ । कानुन व्यवसायीहरु यसअघि धर्ना बस्दै आएको स्थान सर्वोच्च परिसरमा छिर्न खोज्दा प्रहरीले रोकेपछि घम्साघम्सी भएको हो ।

आन्दोलित कानून व्यवसायीहरूले आफूहरू शान्तिपूर्ण धर्ना दिने बताए पनि सुरक्षाकर्मीले उनीहरूलाई रोकेको छ । कानून व्यवसायीले वरिष्ठ अधिवक्तालाई अगाडि लगाएर धर्नास्थल प्रवेश गर्न खोजेका छन् तर प्रहरीले उनीहरूलाई अघि बढ्न दिएको छैन ।

शान्तिपूर्ण आन्दोलनका लागि धर्नास्थल प्रवेश गर्न दिन कानून व्यवसायीले प्रहरीसँग आग्रह गरेका छन् ।

कानुन व्यवसायीहरुले आज (शुक्रबार) निर्णायक आन्दोलन गर्ने भनेर चेतावनी दिएका थिए । आज सर्वोच्च परिसरमा सुरक्षाकर्मीको संख्या पनि बढाइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द शमसेर जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले यही कात्तिक १४ गतेदेखि उनको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !