‘पञ्चायती विकास’भन्दै ओझेलमा पारियो रोल्पाको बडाचौर विमानस्थल
उमा के.सी.
रोल्पा । रोल्पाको बडाचौर विमानस्थल वेवारिसे वनेको छ । संरक्षणमा सरकारी उदासिनताले विमानस्थल गौचरण र खेल मैदानको रुपमा परिणत भएको हो ।
रोल्पाको लुंग्री गाउँपालिका वडाचौरमा रहेको विमान स्थल राजनैतिक व्यवस्था फेरिएसंगै ओझेलमा परेको छ ।
२०४६ सालसम्म सञ्चालनमा ल्याइएको सो विमानस्थल वहुदल स्थापनासँगै ‘पञ्चायती विकास’ को नाममा ओझेलमा पारिएको थियो । तत्कालिन पर्यटन तथा नागरिक उड्डयन मन्त्री बालाराम घर्तीमगरको पहलमा २०३६ सालदेखि विमानस्थल सञ्चालनमा ल्याइएको थियो । विमानस्थलबाट काठमाडौं, पोखरा जस्ता शहरहरूमा उडान हुने गर्दथ्यो ।
बहुदल आएपछि उडान स्थगित भएको विमानस्थल २०५२ सालदेखी शुरु भएको सशस्त्र युद्धले थप थला परेको स्थानीयहरूको भनाई छ । स्थानीय अम्मरबहादुर थापाले भने,“युद्धका वेला विमानस्थलमा भएका संरचना भत्काएर विमानस्थललाई रणभूमि बनाइएको थियो ।”
विमानस्थल पुनःसञ्चालनका लागि नेतृत्व गर्दै आएका थापाका अनुसार आफूहरूलाई दमन गर्न सेनाले हेलिकप्टेर ल्याण्ड गर्न प्रयोग गर्ने त्रासमा माओवादीले विमानस्थलभर बङ्कर खनेका थिए ।
रोल्पाको व्यापारिक नाका सुलिचौर बजारबाट करिब १० किलोमिटर दुरीमा रहेको सो विमानस्थललाई सरकारले ‘सौतेनी व्यवहार’ स्थानीयको गुनासो छ ।
“विमानस्थल सञ्चालनका लागि पटक पटक सर्वदलीय सर्वपक्षीय रुपमा सिंहदरबार पुगेपनि कसैले सुनेन्,मन्त्रीदेखि प्रधानमन्त्री र शक्तिमा रहेका सवै नेताहरूले गर्छौ भन्छन तर अहिलेसम्म संचालनमा आएको छैन,” योगेन्द्र सिजिले भने । पटक पटकको दवाबले सामान्य तारबारबाहेकको अरु काम नभएको जिसीको भनाई छ ।
रोल्पाको ऐतिहासिक एकमात्र विमानस्थल खेलमैदान र गौचरणमा परिणत भएको प्रति स्थानीयहरू चिन्तित छन । “गौचरण र खेलमैदानमा रुपान्तरण भएसंगै यसको अस्तित्व समाप्त हुने देखिन्छ,” स्थानीय मिलन रोकाले भने,“गाईबाख्रा चराउनुको साथै फुटबल खेलका लागि विमानस्थल प्रयोग हुनु राम्रो होईन यसको संरक्षण संगै पुनःसंचालनमा जोड दिनुपर्छ ।”
पर्यटकीय दृष्टीकोणले वडाचौर विमानस्थल महत्वपूर्ण मानिन्छ । वडाचौरबाट महत्वपूर्ण धार्मिक स्थल जलजला,स्वर्गद्धारी र ढोरपाटन पर्यटकीय क्षेत्र नजिकको दुरीमा पर्दछन् ।
रोल्पाको युद्धपर्यटन प्रवद्र्धनमा समेत बडाचौर विमानस्थलले सहयोग गर्ने स्थानीयको विश्वास छ । हाल जलजला, स्वर्गद्धारी र ढोरपाटन पुग्ने पर्यटकहरू गाडी तथा पैदलमार्गबाट पुग्ने गरेका छन् ।
अप्ठेरो सडकमार्गका कारण उनीहरू असहज यात्रा गर्न वाध्य हुने गरेका छन् । विमानस्थल सञ्चालनले रोल्पा, प्यूठान,ढोरपाटन क्षेत्र र रुकुम पूर्वका जनतालाई समेत सहज हुने स्थानीयहरूको भनाई छ ।








