१९ असार २०७९, आइतबार

मानवसेवा आश्रमको उद्धार पछि फलामे साङ्लो मुक्त बनेका जागेश्वरको पारिवारिक पुनर्मिलन

प्रकाशित मिति :  27 January, 2022 9:35 am


फाेटाे : मानवसेवा अाश्रम

वीरगञ्ज । मानसिक रुपमा अस्वस्थ भइ फलामे साङ्लोमा बस्न बाध्य भएका जागेश्वर ठाकुर सामान्य अवस्थामा फर्किएका छन् ।

बारा जिल्लाको कलैया उपमहानगरपालिका – १८ मोतिसरका जागेश्वर मानसिक रुपमा अस्वस्थ भएर देखेका मानिसलाई कुट्ने र अस्वभाविक आचरण देखाउने गरेपछि परिवारले नै उनलाई एउटा कोठाभित्र फलामे साङ्लोले बाँधेर राखेको थियो ।

यस बारेमा स्थानीय व्यक्तिहरु र विभिन्न समाचारहरुबाट जानकारी प्राप्त भएपछि मानवसेवा आश्रम वीरगञ्ज शाखाले २०७८ जेठ २२ गते उद्धार गरि मानसिक स्वास्थ्यको उपचार सुरु गरेको थियो ।

उनको स्वास्थ्य अवस्था बिग्रको १२ बर्ष भएको थियो । नजिकमा कसैलाई देखेको अवस्थामा गाली गर्ने, कुट्न खोज्ने र एक्लै बसेर बरबराइरहने गर्दथे । सुधार्न खोज्दा पनि परिवारले राम्रोसँग औषधी ख्वाउन सक्ने अवस्था थिएन ।

“उहाँलाई परिवारले समेत औषधी ख्वाउन सकेको थिएन । तर आश्रममा आएपछि हामी सबैको माया र प्रेमले उहाँले विस्तारै सामान्य मानिसको जस्तो आचरण देखाउन थाल्नुभयो ।” मानवसेवा आश्रम पर्सा जिल्ला संयोजक सानु गुरुङले बताए ।

“उहाँको अवस्था ठिक भएर आफैले म घरमा जान्छु, काम गरेर खान सक्छु भन्नुभएपछि पारिवारिक पुनर्मिलन गराउन उहाँलाई आश्रमको टिम स्वयं उहाँको घरमा पुगेर पारिवारिक पुनर्मिलन गराएको हो ।” सानुले भने ।

मानवसेवा आश्रमले वि.स २०६९ सालदेखि घरपरिवारि र आफन्तविहीन सडकपेटी र सार्वजनिक स्थलमा रहन बाध्य सहयोगापेक्षी सडकआश्रित मानवहरु र परिवार हुँदाहुँदै पनि घरपरिवारले नै अमानवीय रुपमा थुनेर वा बाँधेर राखिएका सहयोगोक्षी व्यक्तिहरुको उद्धार गर्दै आइरहेको छ ।

मानवसेवा आश्रमको संरक्षणमा १६०० बढी सहयोगापेक्षी व्यक्तिहरु आश्रित छन् भने १० बर्षको अन्तरमा आश्रमले करिब ७००० को उद्धार गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !