३ जेष्ठ २०८१, बिहिबार

रानीमहलमा राष्ट्रिय महिला ‘बिच भलिबल’ प्रतियोगिता हुने

प्रकाशित मिति :  21 March, 2022 9:37 am


पाल्पा । पाल्पाको रानीमहलमा चैत २४ देखि २६ गतेसम्म राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

पाल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको समन्वय, सहयोग र अग्रसरतामा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो । सञ्जय स्मृति मेमोरियल फाउन्डेसन आयोजक रहेको उक्त प्रतियोगितामा सात प्रदेशबाट एक–एक, तीन विभागीय र स्थानीयसहित दुई आमन्त्रित टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

‘बिच’ भलिबल प्रतियोगिताको सद्भावनादूतमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र कलाकार धीरेन शाक्यलाई मनोनीत गरिएको छ । दुवै जना पाल्पा निवासी हुन् । प्रतियोगिता आयोजनासँगै रानीमहललाई मुलुककै बिच भलिबलको ‘हव’का रुपमा विकास र विस्तार गर्ने सोच अघि सारिएको छ ।

‘बिच’ भलिबल समुद्र, नदी तथा खोला किनारमा बालुवामा खेलिने खेल हो । नेपालमा रहेका ६ हजारभन्दा बढी नदी र खोला किनारलाई बिच भलिबलको पूर्वाधार अर्थात् मैदानकारुपमा प्रयोग गर्ने सकिन्छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले पाल्पाको रानीमहललाई बिच भलिबलको ‘हब’ बनाउन सकिने बताए ।

प्रतियोगिता आयोजक समितिका पदाधिकारीसँगको छलफलमा उनले भने, “नेपालका अधिकांश नदी र खोला किनारामा यस खेलको प्रशस्त सम्भावना छ ।” पाल्पाली उत्साहित अभियन्ताले सुन्दर मनोरम रानीमहलको पर्यटकीय प्रवद्र्धनसँगै बिच भलिबलको ‘हव’ कारुपमा विकास गर्नुपर्छ भन्ने कुरा उठाउँदै आएका बिच भलिबल सङ्घका अध्यक्ष यकेन्द्र कुँवरले बताए ।

प्रतियोगितामा पुरस्कारलगायत व्यस्थापनका लागि रु ३० लाख खर्च लाग्ने अनुमान गरिको छ । मुलुकमा बिच भलिबलको विकास र विस्तार गर्ने सिलसिलामा खेलाडीलाई विगतमा वैदेशिक प्रशिक्षणमा पठाइएको र दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले कास्य पदकसमेत जितेको इतिहास छ । यसअघि सन् २०११ मा चितवनमा राष्ट्रिय बिच भलिबल प्रतियोगिता आयोजना गरिएको थियो ।

नेपालमा ठूला तारे होटललगायतका क्षेत्रमा बिच भलिबल खेल्ने गरेको पाइन्छ । विसं २०७६ मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा भएको १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा बिच भलिबल कास्कीको पोखरामा सम्पन्न भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस !