ब्रुनो नायक बनेपछि पोर्चुगल विश्वकपमा छनोट

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ ।
मंगलबार राति भएको विश्वकप छनोटको प्लेअफ फाइलनमा ब्रुनो फर्नान्डेजले दुई गोल गरेपछि नर्थ मेसोडोनियालाई २–० ले पराजित गर्दै पोर्चुगलले विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो ।
प्लेअफको सेमिफाइनलमा इटालीमागि रोमाञ्चक जित निकालेको नर्थ मेसोडोनिया क्रिस्चियानो रोनाल्डोको टोलीविरुद्ध भने जित निकाल्न सकेन।
पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेजले दुई गोल गरे। फर्नान्डेजले खेलको ३२औं मिनेटमा कप्तान रोनाल्डोले दिएको पासलाई गोलमा परिणत गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
यस्तै, खेलको ६५औं मिनेटमा व्याक्तिगत दोस्रो गोल गर्दै फर्नान्डेजले पोर्चुगलको विश्वकपमा यात्रा पक्का गरे ।
जितसँगै पोर्चुगल लगातार छैटौं पटक विश्वकपमा छनोट भएको छ भने ३७ वर्षीय कप्तान रोनाल्डोको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय उपाधिका लागि अन्तिम मौका पाएका छन् ।