२२ मंसिर २०७९, बिहिबार

बृहत् लुम्बिनी गुरुयोजना बनाउँदै

प्रकाशित मिति :  20 March, 2020 6:31 pm


काठमाडौं, ७ फागुन ।

लुम्बिनी, कपिलवस्तु र रामग्रामको संरक्षणका लागि ‘बृहत् लुम्बिनी गुरुयोजना’ बनाइने भएको छ । विश्वका विभिन्न देशबाट आउने पर्यटकलाई लुम्बिनीसँगै कपिलवस्तु र रामग्राम लैजान तथा यहाँस्थित एतिहासिक र पुरातात्विक महत्वका संरचनाको संरक्षणका लागि योजना बनाउन लागिएको हो ।
लुम्बिनी क्षेत्र विकास कोषले कार्यान्वयन गरिरहेको लुम्बिनीको गुरुयोजनाले अरू क्षेत्र नसमेटेको भन्दै कोषले बृहत् योजना अघि बढाएको हो । विगतमा रामग्राममा धेरै अध्ययन भइसकेको कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले बताउनुभयो । विगतमा भएका अध्ययनानुसार बीचमा चैत्य भएको रामग्राम क्षेत्र पाँच सय मिटर क्षेत्रसम्म फैलिएको पाइएको छ ।
अहिले चैत्य नजीकै धेरै अरू संरचना बनिरहेको छ । विगतमा रामग्राम क्षेत्रमा खनेर राखिएका वस्तु हेर्न अहिले सङ्ग्रहालय जानुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यस क्षेत्रमा भेटिएका वस्तु त्यही नजीकै राखेर आगन्तुकलाई हेर्ने व्यवस्था मिलाउने योजना छ ।” यस क्षेत्रलाई व्यवस्थित गर्न सरकारले जग्गा अधिग्रहण गर्नुपर्ने उहाँले बताउनुभयो ।
यस क्षेत्रलाई व्यवस्थित गर्दा कतिपयलाई प्रत्यक्ष र कतिलाई अप्रत्यक्ष रोजगारी मिल्ने उहाँको भनाइ छ । यो योजनाबाट यस क्षेत्रका झण्डै तीन हजार दुई सयजनाले आर्थिक लाभ लिने देखिएको छ । उहाँले भन्नुभयो, “हामीले यहाँको विस्तृत सर्वेक्षण गरेर सरकारलाई दिएका छौँ ।” बौद्ध परम्पराको महत्व कतिपय अर्थमा कपिलवस्तुको महत्व लुम्बिनीको भन्दा पनि बढी रहेको छ ।
बुद्धका २१ ठूला घटनामध्ये १४ घटना कपिलवस्तुसँग जोडिएको पाइन्छ । बौद्ध धर्मावलम्बीले गौतम बुद्धका बुबा शुद्धोधन, आमा मायादेवी, पत्नी यशोधरादेवी र छोरा राहुलकुमारको कथा पढ्ने हुँदा उनीहरुका बारेमा थप बुझ्न पनि कपिलवस्तु जान चाहन्छन् । आगामी दिनमा यहाँ बुद्ध वंश पार्क बनाउनुपर्ने कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले बताउनुभयो । गौतम बुद्धले पहिलो समाधिको अनुभव सात वर्षको उमेरमा कपिलवस्तुको जामुनको रूखमुनि गर्नुभएको पाइन्छ ।
उहाँले भन्नुभयो, “यी लगायतका घटनाले पनि कपिलवस्तुको व्यवस्थापन गर्नुपर्ने देखाएको छ ।” विगतमा कपिलवस्तु जहाँ खनेपनि धेरै सामग्री भेटिएको उहाँले बताउनुभयो । प्राचीन कपिवस्तुको चित्रण भारतका चैत्यमा समेत पाइन्छ । उहाँले भन्नुभयो, “भारतको साँची दरबारमा रहेका चारद्वारमध्ये एउटामा कपिलवस्तु दरबार र यसको परिसरको चित्रण पाइन्छ ।” लुम्बिनीमा अहिले सरकारसँगै र अन्तरराष्ट्रिय क्षेत्रको पनि लगानी छ । धेरै देशका बौद्ध धर्मावलम्बीले विगतमा विहार निर्माण गरे पनि अहिले नयाँ विहार थप्न सकिने अवस्था छैन ।
१२ देखि १४ गुरु विहार निर्माणको योजना बनाएका छन् । ती व्यक्तिलाई तिलौराकोटमा जग्गा उपलब्ध गराएर त्यहाँको संरक्षणको जिम्मेवारी दिन सकिने उहाँले बताउनुभयो । यस क्षेत्रको सबैभन्दा ठूलो प्राचीन व्यवस्थित शहरका रुपमा रहेकाले पनि तिलौराकोटको विशेष महत्व छ । अहिले पनि एक फुट खन्दा व्यवस्थित संरचना भेटिएको कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले बताउनुभयो । यो क्षेत्रमा हिन्दू मन्दिर पनि भेटिएको छ । उहाँले भन्नुभयो, “यसले बौद्ध र हिन्दू धर्मको सम्बन्ध देखाएको छ ।”
विगतमा खन्दा भेटिएका संरचनाको संरक्षण नगरेको पाइएको उहाँले बताउनुभयो । ती संरचनाको संरक्षण गर्ने र आगन्तुकले हेर्न मिल्ने गरी राख्नुपर्ने खाँचो देखिएको छ । उहाँले भन्नुभयो, “खनिसकेका संरचना पुरिन नदिएर आगामी दिनमा जति खनिन्छ त्यसलाई संरक्षित गरेर देखाउनुपर्छ ।” लुम्बिनी जाने केही पर्यटक तिलौराकोट जाने गरेका छन् ।
उनीहरु बस्तीको बीचबाट जानुपर्ने र पर्खाल फुटेको ठाउँबाट प्रवेश गर्नुपर्ने अवस्था छ । यस क्षेत्रमा काठको पैदल मार्ग निर्माण गर्ने, बस्ने ठाउँ बनाउने र खानेपानीको व्यवस्था मिलाउने कोषको योजना रहेको कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले बताउनुभयो । कतिपय स्थानमा चैत्य बस्तीले घेरिएको अवस्थामा रहेकाले तीनको संरक्षणको खाँचो रहेको छ । ती सबैको संरक्षणका कुरा बृहत् योजनाले समेट्नेछ । उहाँले भन्नुभयो, “अहिले हामीले तयारी गरिरहेकाले आगामी सात महिनामा यो बृहत् योजना सरकारलाई दिन सक्छौँ ।”



प्रतिक्रिया दिनुहोस !