८ बैशाख २०८१, शनिबार

फेकोफनका १४ सय भवन क्वरेन्टाइनका लागि प्रयोग गर्न सकिने

प्रकाशित मिति :  22 March, 2020 11:24 pm


काठमाडाैं, ९ चैत । 

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमण रोक्न मुलुकभरका सामुदायिक वन उपभोक्ता समूहका भवनमध्ये एक हजार ३९८ भवन क्वरेन्टाइनका रुपमा प्रयोग गर्न सकिने जनाएको छ ।

फेकोफनका अध्यक्ष भारती पाठकले सातै प्रदेशमा रहेका उक्त भवन तीनै तहका सरकारले फेकोफन र सम्बन्धित सामुदायिक उपभोक्ता समूहहरुसँग समन्वय गरी क्वरेन्टाइनका लागि प्रयोग गर्न सक्ने जानकारी गराउनुभयो । देशभर कुल २२ हजार २६६ सामुदायिक वन उपभोक्ता समूह छन् ।

फेकोफनले सातै प्रदेशमा रहेका सामुदायिक वन उपभोक्ता समूहका भवन मध्ये प्रदेश नं. १ मा १२४, प्रदेश नं. २ मा ५५, वाग्मती प्रदेशमा २६८, गण्डकी प्रदेशमा २१६, प्रदेश नं. ५ मा ३११, कर्णाली प्रदेशमा ८४ र सुदूरपश्चिम प्रदेशमा रहेका ३४० गरी एक हजार ३९८ भवन क्वरेन्टाइनका लागि प्रयोग गर्न सकिने जनाएको छ । साथै सङ्घीय महासङ्घको एक, प्रदेश महासङ्घको दुई र जिल्ला महासङ्घको १० गरी थप १३ भवन पनि क्वरेन्टाइनका लागि प्रयोग गर्न सकिने अध्यक्ष पाठकले बताउनुभयो ।

उहाँले आफ्नो, परिवारको, समुदायको र सबै क्षेत्रको सुरक्षामा विशेष ध्यान दिई महामारीबाट जोगिन र डर त्रासभन्दा पनि सबै उपभोक्ताको आत्मबल बढाउने कार्यमा सहभागी हुुन सबैमा अनुरोध गर्नुभएको छ । कोरोना भाइरसको सङ्क्रमण महामारीको रूपमा विश्वभरि फैलिएको छ । नेपालमा पनि यसकोे सम्भावित सङ्क्रमण रोक्न सरकारले आवश्यक तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस !