१ चैत्र २०८२, आइतबार

मंसिर ४ गते हुने निर्वाचनका लागि दल दर्ताको लागि आह्वान

प्रकाशित मिति :  5 August, 2022 6:34 pm


काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको लागि दल दर्ता गर्न आह्वान गरेको छ ।

२०७९ साल मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि आयोगमा मिति २०७९।४।१९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरुलाई संविधानको धारा २७१ बमोजिम २०७९ श्रावण २२ गते देखि २०७९ श्रावण ३१ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौं स्थित कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिएको आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम २ वा सो भन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनको लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१३ बमोजिमको ढाँचामा निवेदन दिनु पर्ने व्यवस्था गरिएको पनि आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरि आयोगले दल दर्ता प्रयोजनको लागि सार्वजनिक विदाको दिनमा समेत आयोगको कार्यालय खुला रहने जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !