२ पुस २०८२, बुधबार

नेप्सेमा ४३ अंकको उछाल,कारोबार रकम डेढ अर्ब माथि

प्रकाशित मिति :  6 November, 2022 3:45 pm


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा उछाल आएको छ । आइतबार नेप्से परिसूचक ४३ अंकले बढेसँगै कारोबार रकम पनि डेढ अर्ब रुपैयाँ नाघेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ८.०९ अंकले बढेर ३८७.५२ अंकमा पुगेको छ ।

नेप्सेमा कारोबार भएको १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूह उकालो लागेका छन् । सबैभन्दा धेरै लघुवित्त समूह बढेको छ ।

आइतबार नेप्सेमा कारोबार रकमका आधारमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड अग्रस्थानमा रहेको छ । संस्थाको १० करोड १४ लाख ९६ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

यस्तै, आइतबार ४ वटा लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । आज मानुषी लघुवित्त, जाल्पा लघुवित्त, नेष्डो समृद्ध लघुवित्त र उपकार लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज नबिल इक्यूडिटी फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । फण्डको सेयरमूल्य २.४८ प्रतिशतले घटेको छ ।

कूल २२८ वटा कम्पनीको ३९ लाख १३ हजार ५ सय ७३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५ सय ६१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !