शिवम् सिमेन्टको कुल खर्च घट्दा आम्दानी ३१ प्रतिशतले बढ्यो
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा खुद मुनाफा बढेको छ ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्षको पहिलो त्रैमासिकमा कम्पनीको कुल खर्च घट्दा खुद मुनाफामा ३१ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिसम्ममा कम्पनीको कुल खर्च २०.०३ प्रतिशतले घटेको छ ।
पहिलो त्रैमासिकसम्म आइपुग्दा कम्पनीले २७ करोड ४७ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३१.९४ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २० करोड ४२ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै, कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोषमा १ अर्ब ५३ करोड ४५ लाख रूपैयाँ रहेको छ । पहिलो त्रैमासिकसम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २४ रुपैयाँ ९८ पैसा पुगेको छ ।
त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ९ पैसा पुगेको छ ।








