५ जेष्ठ २०८१, शनिबार

नेकपा रोल्पाद्धारा कोरोना उपचारलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकारसँग माग

प्रकाशित मिति :  4 April, 2020 7:47 am


रोल्पा, २२ चैत ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाले कोरोना भाइरसको उपचारलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकारसँग माग गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज दिपेन्द्र पुनमगर(सिजल)ले विज्ञप्ति निकाल्दै सिमित स्रोतसाधनका बावजुद स्वास्थ्यकर्मीहरु २४ सै घण्टा खटिएको भन्दै थप प्रभावकारी उपचारका लागि केन्द्र,प्रदेश र स्थानीय सरकारसँग माग गरेको हो ।

इन्चार्ज पुनले निकालेको विज्ञप्तिमा भनिएको छ,‘सिमित साधन स्रोतका बावजुत हाम्रो स्वास्थ्यकर्मी साथीहरु २४ सै घण्टा खटिराख्नुभएको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले अपुग सुरक्षित सामाग्री र औषधिहरु उपलब्ध गराईदिएर सुरक्षित स्वास्थ्यकर्मी र व्यवस्थित उपचारलाई प्रभावकारी बनाउन तीनै तहका सरकारसँग जोडदार माग गर्दछुँ ।’

नेकपा रोल्पाले जिल्लाका विभिन्न ठाँउमा आम नागरिक तहबाट हेलचक्राईं भएको जानकारी आएको भन्दै रोगलाई गम्भीरताका साथ लिन आग्रह पनि गरेको छ । इन्चार्ज पुनको विज्ञप्तिमा भनिएकोछ,‘कतिपय स्थानमा जानकारी नदिएर बस्ने,सोधखोज गर्दा प्रतिरोध गर्न खोज्ने,सामाजिक प्रतिष्ठासँग जोड्ने, निर्धारित समय सकेपछि भोजभतेर गरेको कुरा सुन्न्मा पनि आएको छ । अर्को कुरा आफैले आफैलाई सुरक्षित घोषणा गर्ने व्यक्तिहरुको समस्या पनि देखिएको छ । यसको लागि सिंगो समाज परिवार र व्यक्तिहरुको अनुशासित र जागरुक हुनुपर्दछ ।’

उनले कथमकदाचित कोही कसैले जानीबुझी अटेरी गरे नियमअनुसार कठोर कदम चाल्न पछि पर्न नहुँने सुझाव समेत दिएका छन् । उनले भनेका छन,‘रोग, रोग नै हो । यसमा कुनै माया,ममता, भावनाको कुरा हुँदैन । त्यसैले हामी सबैले कठोरतापूर्वक नियमको पालना गर्नु गराउनुबाहेक अर्को दोस्रो बाटो छैन ।’ इन्चार्ज पुनले यस्तो बेलामा स्थानीय सरकारको प्रभावकारिता र औचित्यताको बारेमा पुष्टि भएको भन्दै थप चनाखो भएर खट्न आग्रह गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !