१९ फाल्गुन २०८०, शनिबार

एमसीसी परियोजना : ३१५ किलोमिटर प्रसारण लाइन निर्माणको लागि ठेक्का आव्हान

प्रकाशित मिति :  28 November, 2022 2:07 pm


काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए)ले विद्युतीय प्रसारण लाइन निर्माण सुरु गर्ने भएको छ । एमसीए नेपालले आज तीन प्याकेजमा विद्युत् प्रसारणलाइन निर्माणको ठेक्का आह्वान गरेको छ ।

पहिलो चरणमा लप्सिफेदी–रातामाटे–हेटौँडा ४०० केभी (१७७ किलोमिटर)को प्रसारणलाइन निर्माणको ठेक्का आह्वान गरिएको छ । यस्तै, दोस्रो चरणमा रातामाटे–दमौली ४०० केभी (९० किलोमिटर)को र तेस्रो चरणमा दमौली–बुटवल ४०० केभी (१०८ किलोमिटर)को प्रसारणलाइन निर्माणको ठेक्का आह्वान भएको छ । आयोजनाले कूल ३१५ किलोमिटर लामो प्रसारणलाइन निर्माण सुरु गर्न लागेको हो ।

आज आह्वान भएको ठेक्कामा यही वर्षको अन्त्यसम्म अर्थात् चैत २९ गतेसम्ममा आवेदन दिनुपर्ने एमसीए नेपालको कार्यालयले जनाएको छ । ठेक्का पाउने कम्पनीले आयोजनाको डिजाइन, सप्लाई, डेलिभरी, इन्सटलेसन, टेष्टिङ र कमिनसिङ गर्नुपर्ने एमसीए नेपालको कार्यालयले जनाएको छ ।

यो आयोजना ५ वर्षमा निर्माण सम्पन्न गर्नु पर्नेछ। सन् २०२३ को अगष्टबाट निर्माणको काम सुरु गर्ने कार्यतालिका रहेको परियोजनाका सबै काम २०२८ अगष्टमा सक्नुपर्नेछ।

निर्माण कम्पनीले डिजाइनसहित साढे तीन वर्षको अवधि पाउनेछ। बिचमा कुनै समस्या आए समाधानका लागि थप समय छुट्याइएको एमसीए(नेपालका एक अधिकारीले बताए। उनका अनुसार यो आयोजना समयमा नै सम्पन्न हुनेछ। समयमा सक्नैपर्छ। यदि नसक्ने अवस्था आयो भने पैसा फिर्ता जान्छ। त्यसैले हामी समयमा सक्ने उद्देश्यसहित काम अगाडि बढाउँदैछौं, उनले भने।

आयोजनामा कूल ८८६ वटा टावर निर्माण हुनेछन् भने यसका लागि करिब २ लाख १२ हजार वटा रुख काट्नुपर्ने छ । यो आयोजना अन्तर्गतको प्रसारणलाइन काठमाडौँ–सिन्धुपाल्चोक–नुवाकोट–धादिङ–मकवानपुर–चितवन–तनहुँ–पाल्पा–नवलपुर र परासी हुँदै भारततर्फ जानेछ ।

४०० केभी डबल सर्किटको प्रसारण लाइनले ३००० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्नेछ । यो प्रसारणलाइन निर्माण सम्पन्न भएपछि भारततर्फ विद्युत् व्यापारका लागि नेपालको दोस्रो प्रसारणलाइन हुनेछ र, यसका लागि ११४ मिलियन अमेरिकी डलर खर्च लाग्ने एमसीए नेपालको आङ्कलन छ ।



प्रतिक्रिया दिनुहोस !