२ पुस २०८२, बुधबार

नेप्से १७ अंकले बढ्दा कारोबार रकम ५ अर्बमाथि

प्रकाशित मिति :  5 January, 2023 5:02 pm


काठमाडौं । सेयरबजारको उकालो यात्रा आजपनि कायमै रहेको छ । साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक १७ अंकले बढ्दा ५ अर्ब माथिको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से परिसूचक १७.९२ अंकले बढेर २१४३.७६ अंकमा पुगेको छ । नेप्से ०.८४ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.६१ अंकले बढेर ४११.३३ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज २ वटा उपसमूहबाहेक बाँकी सबै उपसमूहको सेयर बढेको छ । बैंकिङ्ग र अन्य समूह घटेको हो ।

बिहीबार हिमालयन डिष्टीलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४३ करोड १९ लाख ६६ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आजको दिन चन्द्रागिरी हिल्स, बुद्धभूमी नेपाल हाइड्रोपावर, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, श्रृजनशील लघुवित्त, बाराही हाइड्रोपाववर, हिमालयन उर्जा, इष्टर्न हाइड्रोपावर र हिमालयन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी ९ वटै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर कारात्मक सर्किट लागेको छ ।

यस दिन सिटीजन्स म्युचुअल फण्ड २ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य ३.०३ प्रतिशतले घटेर ८ रूपैयाँमा झरेको छ ।

कूल २५९ वटा कम्पनीको एक करोड २५ लाख ८१ हजार ९ सय ८२ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ४ करोड ७ लाख ४० हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !