१४ बैशाख २०८१, शुक्रबार

माघ २४ गतेदेखि क्यान इन्फोटेक हुने, प्रायोजक एवं स्टल बुकिङ खुला

प्रकाशित मिति :  12 January, 2023 11:50 am


काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) ले २८ औं क्यान इन्फोटेक प्रर्दशनी गर्ने भएको छ । प्रदर्शनी आउदाे माघ २४ गतेदेखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न हुनेछ ।

क्यान इन्फोटेकमा सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनहरुको सहभागिता रहने क्यान महासंघले जनाएको छ । सञ्चार तथा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने उल्लेख गरेको छ ।

क्यानका अनुसार प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने छन् ।

क्यानले यो प्रदर्शनी सूचना प्रविधि सम्बन्धी चासो राख्नेहरुका लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विषेश थलो हुने विश्वास लिएको छ ।

क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अवसर दिने उल्लेख गरेको छ ।

प्रदर्शनीमा अवलोकनर्ताले देश–विदेशका सफ्टवेयर, नेटवर्किङ तथा क्लाउड सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स र सेक्युरिटी सोलुसन पाउनसक्ने छन् । ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटिभी पनि प्रदर्शनीमा उपलब्ध हुने जनाएको छ ।

यसैगरी क्यानका अनुसार आईओटी, ब्लक चेन, आर्टिफिसियल इन्टेलिजेन्स, वैकल्पिक ऊर्जा प्रविधिको जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहनेछन् ।

प्रदर्शनीले नवीनतम प्रविधि स्टार्टअप इन्नोभेशन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिएको क्यान महासंघले जनाएको छ ।

क्यान महासंघले क्यान इन्फोटेक २०२३ का लागि आवश्यक पर्ने स्टल तथा ह्याङ्गर निर्माण र बिधुत आपूर्ति, सुरक्षा गार्ड, स्टेशनरी, छपाई लगायतका प्रस्ताबहरु समेत आब्हान गरेको छ ।



प्रतिक्रिया दिनुहोस !