क्रसर उद्योग बन्द भएपछि सडक विभागका महानिर्देशककाे ब्यङ्ग्य, ‘गिट्टी बालुवा चन्द्रमाबाट ल्याउने कि !’
काठमाडौँ । गृहमन्त्रालयले पुष २० गते देशभर दर्ता र नविकरण गरी संचालन गरेका अवैध क्रसर उद्योगहरू बन्द गराउन जिल्ला प्रशासन कार्यलयहरूलाइ निर्देशन दियो ।
उक्त निर्देशनलाई पालना गरेर सबै जिल्लाहरूले आ-आफ्ना जिल्लाभित्र संचालन रहेका अवैध क्रसर उद्योगहरु बन्द गर्नको लागि परिपत्र नै जारी गरी बन्द गराए । क्रसर उद्योगहरु अचानक बन्द हुँदा निर्माण व्यवसायीहरू भने मारमा परेको छन् । कति निर्माण व्यवसायीहरू ठेक्का लिएको आयोजनाहरु समयमा सम्पन्र गर्न समस्या परेकाे भन्दै विरोध जनाएका छन् ।
यता सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले गृहमन्त्रालयको अवैध क्रसर बन्द गराउने निर्णयले काठमाडौँ उपत्यका देखी मुख्य सडक आयोजनाहरू प्रभावित भएको बताएका छन् । उनका अनुसार अहिले जापनिज निर्माण व्यवसायीद्धारा निर्माणाधीन नागढुंगा सुरुङमार्ग पनि बालुवा नपाएर निर्माण ठप्प रहेकाे छ ।
थापाले सामाजिक संजालमा लेखेका छन्, “नागढुंगा नौबिसे मुग्लिङ सडक विस्तार कार्य पनि सँगसँगै भइरहेको छ । यसमा ठिकै रफ्तारमा काम भइरहेको भन्ने आम समाचार माध्यममा पढन पाउँदा निकै खुशी लागेको थियो । त्यो खुशी पनि धेरै दिन रहन पाएन । निर्माण व्यवसायीले किनेर आफ्नो क्याम्पमा राखेको बालुवा, ढुंगा र गिट्टी मात्र हैन । सडकमा निर्माणका लागि सडकको छेउमा थुपारेको तर निर्माण सकेर बचत हुन गएको निर्माण सामाग्री समेत २ देखि ३ सय मिटर परको अर्को साइट लैजान समेत बन्देज छ । कानूनको पालना कडाइका साथ लागू हुन्छ, हाम्रो देशमा ।’’
महानिर्देशक थापाले गृहमन्त्रालयकाे निर्णयमाथी ब्यङ्ग्य गर्दै लेखेका छन्, “अब देशमा खनिजजन्य निर्माण सामाग्रीहरु चन्द्रमाबाट ल्याउने योजना गर्नु पर्ने हो कि !’’








