१६ माघ २०७९, सोमबार

नाडा सदस्य र अर्थमन्त्रीबिच भेट, अटोमोबाइल क्षेत्रका समस्याहरूबारे छलफल

प्रकाशित मिति :  24 January, 2023 2:36 pm


काठमाडौँ । नाडा सदस्यहरू र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलबिच भेटवार्ता भएको छ। सोमबार नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलसँग भेट गरी अटोमोबाइल क्षेत्रका समसामयिक विषयहरूमा छलफल गरेको हो।

सो छलफलको क्रममा उपप्रधानमन्त्री पौडेलले सवारी साधनहरूलाई सरकारले विलाशिताको वस्तुमा वर्गीकरण गरेको सन्दर्भमा त्यसबारे आउँदो बजेट सम्बन्धी छलफलमा नाडालाई बोलाई त्यसबारे उपयुक्त निर्णय गर्ने बताएका छन्।

अध्यक्ष थापाले सवारी साधनहरूलाई सरकारले विलाशिताको वस्तुमा वर्गीकरण गरी सोही अनुरूप नीतिहरूको निर्माण भइरहेको गुनासो गर्दे सवारी साधनहरूलाई सो वर्गीकरणबाट हटाउन आग्रह गरेपछि उपप्रधानमन्त्रीले त्यस्तो प्रतिक्रिया आएको हो।

त्यस्तै अध्यक्ष थापाले सरकारले आयातमा एलसी खोल्दा अनिवार्य नगद मार्जिन राख्नु पर्ने व्यवस्था हटाएको। त्यसैगरी सरकारले ८ महिनादेखि निजी प्रयोजनका डिजेल र पेट्रोलबाट चल्ने कार जिप र भ्यानको आयातमा लगाएकोे प्रतिबन्ध पनि केही समयअघि फुकुवा गरेकाले धेरै हदसम्म सकारात्मक प्रभाव पार्ने बताएका थिए ।

भेटघाटमा अध्यक्ष थापाले नेपाल राष्ट्र बैंकका अन्य केही नीतिहरुका कारण अटोमोबाइल व्यवसायीहरू आफ्नो व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था विद्यमान नै रहेकाे र अहिले लाखौको संख्यामा रहेका कर्मचारी तथा मजदुरहरूले आफ्नो रोजगारीसमेत गुमाएकाे बताए ।

नेपालका भन्सार नाकाहरूमा ६ महिना देखि करिब ३००० सवारी साधनहरुको भन्सार जाँचपाससमेत हुन नसकेको अवस्था छ। यस्तो जटिल स्थितिको समुचित समाधानका लागि अर्थमन्त्रीलाई नाडाले आग्रह गरेको छ।

अध्यक्ष थापाले अटो लोनहायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गर्नको लागि समेत अनुरोध गरेका थिए ।

छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालमा भारतसँगको व्यापारलाई सहज बनाउन र भारतीय लगानीलाई आकर्षित गर्न इन्डियन इकोनोमिक जोन स्थापना गर्नुपर्ने र नेपालमा सवारी साधन एसेम्बलिङ उद्योग जस्तैै अटोमोबाइल स्पेयर पार्टस उद्योगको प्रशस्त संभावना देखिएकोले यस क्षेत्रमा लगानी आकर्षित गर्न र यस्तो उद्योग खोल्नका लागि प्रोत्साहित गर्न कृषि र पर्यटन उद्योगहरूलाई जस्तै सुविधा प्रदान गर्ने व्यवस्थाका लागि समेत आग्रह गरेका थिए ।

छलफलको अन्त्यमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री पौडेलले नाडाबाट प्रस्तुत मागहरूका सम्बन्धमा सरकार गम्भीर रहेको र ती मागहरूकाे सम्बन्धमा पहल समेत भइरहेको जानकारी दिए। उक्त भेटघाट तथा छलफलमा कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्यद्धय निराकार श्रेष्ठ, आकाश गोल्छा, बरदान बस्नेत र सोहन श्रेष्ठसमेतको उपस्थिति रहेको थियो।



प्रतिक्रिया दिनुहोस !