आजको मौसम : हिमाली भागमा हिमपातको सम्भावना
प्रकाशित मिति : 8 February, 2023 7:49 am
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहान तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।
पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ। यस्तै प्रदेश १ र गण्डकीका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति प्रदेश १ को पहाडी भागमा आंशिक बदली हुने तथा प्रदेश १ का उच्च पहाडी तथा हिमाली भागमा हिमपात हुने छ ।








