१४ बैशाख २०८१, शुक्रबार

सरकारको दायित्व सामाजिक सुरक्षा योजनाबाट कम गर्नु पर्छ : मुख्य सचिव

प्रकाशित मिति :  22 March, 2023 2:45 pm


काठमाडाैँ । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले सामाजिक सुरक्षामा सरकारको दायित्व सामाजिक सुरक्षा योजनाबाट कम गर्नुपर्ने बताए ।

बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौँमा आयोजित सामाजिक सुरक्षा योजनाको शुभारम्भ  समारोहमा बोल्दै उनले सरकारको सामाजिक सुरक्षा दायित्वको लागत बढ्दै गएको बताएका हुन् । उनले कुल गार्हस्थ्य उत्पादनको ५.१८ प्रतिशत र बजेटको १२ प्रतिशतमाथि सामाजिक सुरक्षाको क्षेत्रमा खर्च भएको भन्दै  वर्षैपच्छिे सामाजिक सुरक्षामा खर्च बढ्दै जाँदा बजेटको स्रोतमा चाप पर्ने गरेको बताए ।

मुख्यसचिव बैरागीले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई लक्षित गरी सामाजिक सुरक्षा योजनामा आबद्ध गराउँदा राष्ट्रिय पुँजीको निर्माण गर्न सहयोग पुग्ने बताएका छन् । उनले राष्ट्रिय पुँजी पूर्वाधार निर्माण र सामाजिक सुधारमा खर्च गर्न सके पुँजीको अभावबाट परेको समस्या सहज हुनेसक्ने उल्लेख गरे ।

उनले भने, ”अनौपचारिक क्षेत्रमा कार्यरत स्वरोजगारमा आवद्ध व्यक्तिहरूको सामाजिक सुरक्षाको कुनै पनि सामाजिक सुरक्षाको दायरामा समेट्न नसकिएको परिप्रेक्ष्यमा सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई लक्षित गरी सामाजिक सुरक्षा योजनामा ल्याउने नयाँ व्यवस्था गरेको छ । सरकारको सामाजिक सुरक्षा दायित्वको लागत बढ्दै गएको छ । अहिले कुल गार्हस्थ्य उत्पादनको ५.१८ प्रतिशत र राष्ट्रिय बजेटको १२ प्रतिशतमाथि सामाजिक सुरक्षाको क्षेत्रमा खर्च भएको छ । वर्षैपच्छिे यसरी सामाजिक सुरक्षामा खर्च बढ्दै जाँदा बजेटको स्रोतमा भारी चाप पर्छ । ”

उनले सामाजिक सुरक्षा कोषलाई सबै पक्षबाट सहयोग र सुदृढ बनाउन जरुरी रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !