२४ बैशाख २०८१, सोमबार

जडेजा र रहाने चम्किएपछि चेन्नईको लगातार दोस्रो जित

प्रकाशित मिति :  9 April, 2023 8:42 am


काठमाडौँ । बलिङमा रविन्द्र जडेजा र ब्याटिङमा अजिन्का रहाने चम्किएपछि इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ।

शनिबार रातिको मुम्बइको घरेलु मैदान वाङखडे स्टेडियममा भएको दोस्रो खेलमा चेन्नाइ सुपर किंग्सले मुम्बई इन्डियनलाई ७ विकेटले पराजित गरेको हो ।

दुई सर्वाधिक सफल टोलीबीचको भिडन्तमा चेन्नाइ हाबी बन्यो । बलिङमा जडेजाले तीन विकेट लिए । त्यसपछि ब्याटिङमा रहाने आक्रमक ब्याटिङ गर्दै ६१ रन बनाए ।

मुम्बईले दिएको १५८ रनको लक्ष्य चेन्नईले ११ बल बाँकी छँदै ३ विकेट गुमाएर पूरा गर्‍यो।

खराब सुरूआत गरेको चेन्नईले पहिलो ओभरमै ओपनर डेभन कोनवेको विकेट गुमाए पनि दोस्रो विकेटका लागि ऋतुराज गाइक्वाड र अजिन्का रहाणेले ८२ रनको साझेदारी गरेका थिए। उत्कृष्ट ब्याटिङ गरेका रहाणेले पावरप्लेमै यस आईपीएलको सबैभन्दा छिटो अर्धशतक बनाए। १९ बलमा आफ्नो अर्धशतक पूरा गरेका उनले ६ चौका र ३ छक्का हाने । रहाणेले २७ बल खेलेर ६१ रन बनाएर आउट भए।

यसपछि शिवम दुबेले गायकवाडसँग चौथो विकेटका लागि ४३ रनको साझेदारी गर्दै टोलीलाई जित नजिक पुर्‍याए। दुबेले २८ रन बनाए।

ऋतुराज गायकवाडले ४० रन बनाएर अविजित रहे भने अम्बाती रायडू २० रन बनाएर नटआउट रहे। मुम्बईका लागि जेसन ब्रेनडर्फ, पियुस चावला र कुमार कार्तिकेयले समान १/१ विकेट लिए।

पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो।

मुम्बई इन्डियन्सका लागि इशान किसानले सर्वाधिक ३२ रन बनाए। टीम डेभिडले ३१ रन बनाउँदा तिलक बर्माले २२ तथा कप्तान रोहित शर्माले २१ रन बनाए।

चेन्नईका रविन्द्र जडेजाले सर्वाधिक ३ विकेट लिए। मिचेल सान्टेनर र र तुसार देशपाण्डेले २/२ विकेट लिए।

यो जितसँगै चेन्नईले ३ खेलमा २ जितसहित ४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ।



प्रतिक्रिया दिनुहोस !