२४ बैशाख २०८१, सोमबार

अग्रता जोगाउन नसक्दा भिल्लारियलसँग रियल म्याड्रिड पराजित

प्रकाशित मिति :  9 April, 2023 8:55 am


काठमाडौँ । अग्रता जोगाउन नसक्दा रियल म्याड्रिडले घरेलु मैदानमै भिल्ला रियलसँग पराजित भएको छ। स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल भिल्लारियलसँग ३–२ ले पराजित भएको हो।

रियललाई पराजित गर्न भिल्लारियलका सामुइल चुकविजीले दुई तथा जोश लुइस मोरालेसले एक गोल गरे । रियलका भिनिसियस जुनियरले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

सान्टियागो बर्नबेउमा शनिबार राति भएको रोमाञ्चक बनेको खेलमा रियलले खेलमा दुई पटक अग्रता लिएर पनि अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा पराजय भोग्न पुग्यो । रियलले खेलको १६औं मिनेटमा पाउ टोरेसको आत्मघाती गोलबाट अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । ३९औं मिनेटमा सामुइल चुकविजीले जियोभानी लो सेल्सोको पासमा गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।

४८औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई पुनः २–१ को अग्रता दिलाए । उनले ड्यानियल सेवालोसको पासमा गोल गर्न सफल भएका थिए । ७०औं मिनेटमा जोश लुइस मोरालेसले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

८०औं मिनेटमा सामुइल चुकविजीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै भिल्लालाई ३–२ ले अघि बढाए । उनले एलेक्स बेइनाको पासलाई सदुपयोग गरेका थिए ।

८३औं मिनेटमा रेफ्रीले रियललाई पेनाल्टी प्रदान गरेपनि भिएआरबाट पेनाल्टीले मान्यता पाएन । त्यसपछि थप गोल निस्कन नसक्दा रियल घरेलु मैदानमा पराजित हुन पुग्यो ।

लिगको दोस्रो स्थानमा रहेको रियल शीर्षस्थानको बार्सिलोनासँग १२ अंकले पछि परेको छ। रियलको २८ खेलबाट ५९ अंक रहँदा एक खेल कम खेलेको बार्सिलोनाको ७१ अंकसहित शीर्ष स्थानमा छ।



प्रतिक्रिया दिनुहोस !