सवारी साधनलाई विलाशिता वस्तुको वर्गीकरणबाट हटाउन नाडाको आग्रह
काठमाडौँ । नाडा सदस्य र अर्थ मन्त्री प्रकासशरण महतबीच आज (सोमबार) भेटवार्ता भएको छ। नाडाका अध्यक्ष ध्रुब थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थ मन्त्री महतसँग भेट गरेको हो। उक्त भेटमा अटोमोबाइल क्षेत्रका समसामयिक समस्याकाे विषयमा छलफल भएको नाडाले जनाएको छ।
अहिले सरकारले सवारी साधनहरूलाई विलाशिताको वस्तुमा वर्गीकरण गरेको छ। नाडा अध्यक्ष थापाले यसकारण सरकारले सोही अनुरूप नीतिहरूको निर्माण गरिरहेको गुनासो गरे। जसले अटोमोबाइल क्षेत्र धरासायी बनाएको र सो वर्गीकरणबाट हटाउन समेत आग्रह गरेका छन् ।
छलफलमा अध्यक्ष थापाले अटो लोन हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत कायम गरिनु पर्ने, सुस्ताएको अटोमोबाइल व्यवसायलाई गतिशिल बनाउन बैंकहरूबाट निजी सवारी साधनको हायर पर्चेज कर्जा प्रवाह गर्ने प्रकियामा हालको ५० प्रतिशतको सीमालाई वृद्धि गरिनुपर्ने र चालु पुँजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुँदाहरूको संशोधनका लागि समेत अनुरोध गरे।
अध्यक्ष थापाले बजारमा अटोमोबाइल स्पेयर पार्टसको चोरी पैठारी निकै बढेको सन्दर्भमा त्यसको रोकथाम गर्न सकिएमा राजश्व पनि बढने सुझाव दिएका छन् । यस सन्दर्भमा मन्त्री महतले अटोमोबाइल व्यवसायीहरुको समस्याको सम्बोधनका लागि नेपाल राष्ट्र बैंकसंग सल्लाह गर्ने, कुन कुन विषयहरूमा अटोमोबाइल व्यवसायीहरूलाई समस्या परेको छ त्यसबारे आउँदो बजेट समावेश गर्ने आश्वासन दिए।
मन्त्री महतले अटोमोबाइल व्यवसायीहरूले विद्युतिय सवारी साधनहरूको उत्पादन र बिक्रीमा ध्यान दिनका लागि आग्रह गरेका छन् । यस सन्दर्भमा अध्यक्ष थापाले विद्युतिय सवारी साधनहरूको प्रयोगलाई प्रोत्साहित गर्न त्यसमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुलमा थप छुट दिन अनुरोध गरेका छन् ।
उक्त भेटघाट तथा छलफलमा नाडाका सचिव विक्रम सिंहानिया सह(कोषाध्यक्ष पंकज अग्रवाल, सुदुर पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनका अध्यक्ष तथा नाडाका केन्द्रीय कार्य समिति सदस्य पुष्कर ओझा, केन्द्रिय कार्य समिति सदस्य तथा राजश्व समितिका सभापति आकाश गोल्छा समेतको उपस्थिति रहेको थियो ।








