५ जेष्ठ २०८१, शनिबार

केही सहकारीका बदमासीका कारण अधिकांश समस्यामा परे : कास्कून कोषध्यक्ष पुरी

प्रकाशित मिति :  11 April, 2023 6:01 pm


काठमाडौँ । पछिल्लो समय केही सहकारीका बदमासीका कारण अधिकांश सहकारी समस्यामा परेको काठमाडौँ बचत तथा ऋण सहकारी संघ (कास्कून) की कोषध्यक्ष सिमा पुरीले बताइन् ।

मंगलबार काठमाडौँ महनगरपालिका सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजले संयुक्त रुपमा आयोजना गरेको काठमाडौँ महनगरपालिकाको कार्यक्षेत्र पर्ने सहकारी संस्थाहरूको वर्तमान अवस्था, समस्या र समाधानका विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले केही सहकारीहरूले ऐन, नियम अनुसार काम नगर्दा सहकारी संस्थाको मूल्य र मान्यता हराउँदै गएको र अधिकांश बचतकर्ताहरूको निक्षेप जोखिममा परेको बताएकी हुन् ।

पुरीले संस्थाहरूले समाजमा सकारात्मक कार्य समेत गरेको बताएकी छन् । उनले भनिन्, “हामीले पछिल्लो समय यति सहकारीका संचालक फरार भए, यति बचतकर्ता समस्यामा परे भनेर गुनासो सुन्दै आएका छौँ । तर केही सहकारीले समाजमा उत्पादन भएका वस्तुको सहज बजारीकरण गर्न समेत सहयोग गरेका छन् । त्यसैले संचारकर्मीले यसमा पनि खोज गर्न आवश्यक छ ।’’

काठमाडौँ बचत तथा ऋण सहकारी संघले पनि अधिकांश सहकारी संचालकदेखि सदस्यहरूलाई सहकारीको विषयमा तालिम प्रदान गर्दै आएको पुरीले बताएकी छन् । “अहिलेको अवस्थामा संचालकहरूले सहकारी सदस्यहरूसँग चिया, बिस्कुट खाएर उनीहरूको समस्या बुझन जरुरी भएको छ । त्यसकारण विभागदेखि अन्य विषयगत संघहरूले संस्थाहरूलाई तालिम प्रदान गरेर सहकारी जोगाउने अभियान चलाउनुपर्छ ।“ उनले भनिन् ।

पुरीले सहकारीले बचत रकम फिर्ता गर्न नसकेको भन्दा पनि तत्कालका लागि तरलता सहजिकरण गर्न सहयोग गरेर विश्वास बढाउनतर्फ लाग्नुपर्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस !