३ पुस २०८२, बिहिबार

इङवा हाइड्रोको आइपीओमा आजदेखि आवेदन खुला

प्रकाशित मिति :  26 April, 2023 10:12 am


काठमाडौँ । इङवा हाइड्रोपावरले वैशाख १३ (आज) गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको छ ।

कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि छुट्याएको थियो।

जसमध्ये आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरी बाँडफाँट नभएको २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको शेयर थप गरी कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आइपीओमा वैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा आवेदन नपरेमा वैशाख २७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

इच्छुक लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । रेटिङ एजेन्सी केयर नेपालले इङवा हाइड्रोपावरको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ ।

जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।



प्रतिक्रिया दिनुहोस !