१ पुस २०८२, मंगलबार

निजी क्षेत्रसँग सरकारले साझेदारीको नीति अपनाउनुपर्छः अध्यक्ष ढकाल

प्रकाशित मिति :  1 May, 2023 4:45 pm


काठमाडाैँ । मौलाकाली केवलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँग सरकारले साझेदारीको नीति अपनाउनुपर्ने बताए ।

सोमबार मौलाकाली केवलकार उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष ढकालले सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्न सरकारले  साझेदारीको नीति अपनाउन आवश्यक रहेको बताएका हुन् ।

उनले जति छिटो निजी क्षेत्रसँगको सहजीकरणको नीति लियो त्यति छिटो नै देशको विकास हुने दाबी गर्दै नेपालमा संस्कृति, कला, प्राकृतिक सौन्दर्य र अलौकिक भूगोलको ज्ञानका लागि पर्यटक आउने भन्दै पर्यटक पूर्वाधारको विकास गर्न आवश्यक रहेकाे बताए ।

ढकालले मुलुकमा पर्यटन पूर्वाधारको कमी भएको र अहिले नेपाल आउने विदेशी पर्यटकको औसत खर्च  तथा बसाई निकै कम भएको भन्दै प्रतिदिन घट्दो अवस्थामा रहेको पनि बताए ।

उनले विदेशी पर्यटकहरू औसत १२ दिन नेपाल बस्ने र दैनिक औसत ५० डलर भन्दा कम खर्च गर्ने गरेको पछिल्लो तथ्यांक रहेको भन्दै  पर्यटकलाई आकर्षित गर्ने र उनीहरूको नेपाल बसाई र खर्च बढाउने खालका थप ठूला पूर्वाधारहरू निर्माण गर्न आवश्यक रहेको बताएका थिए ।

नेपालमा प्रकृतिको अपार वरदान रहेको भन्दै पर्यटन बढाउन सक्ने असंख्य सम्भावना रहेको र सरकार र निजी क्षेत्रको भिजन र इच्छाशक्ति मिसाए र प्रविधि,पुँजी जोड्नसके पर्यटन बिस्तार गर्न समय नलाग्ने ढकालले बताए ।

उनले सरकारले वातावरण बनाए निजी क्षेत्रले ठूलो लगानी गर्नसक्ने र निजी क्षेत्रले ठूलो लगानी गरी विकास, रोगजारी र आर्थिक वृद्धिमा सरकारलाई योगदान गर्नसक्ने बताए ।



प्रतिक्रिया दिनुहोस !