आगामी वर्षको बजेटका लागि सत्तारुढ गठबन्धनमा छलफल शुरू
काठमाडाैँ । सत्तारुढ गठबन्धनले आगामी वर्षको बजेटमा छलफल शुरु गरेको छ । बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बजेटका लागि छलफल शुरु गरेको हो ।
छलफलमा बजेटको सिद्धान्त र प्राथमिकताका बारेमा सरकारले आत्रारपत्र तयार गर्नुपर्ने निर्णय भएको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । उनले यही वैशाख २४ गते बजेट अधिवेशन आह्वान भएको र अधिवेशनमा बजेटका सिद्धान्त र प्राथमिकतामा सत्तारुढ दलबीच सहमति गर्ने प्रयास भएको बताए।
“२४ गते अर्को संसद अधिवेशन बोलाइएको छ, २४ गतेको अर्को अधिवेशनमा के कुरामा गर्ने भन्नेबारेमा छलफल भयो । बजेटका सिद्धान्त र प्राथमिकता ल्याउने कुरामा छलफल भयो,” उनले भने, “यसमा सरकारले एउटा आधारपत्र तयार गर्ने र बजेटका सिद्धान्त र प्राथमिकताको प्रारम्भिक छलफल गर्ने र बजेटका बारेमा पनि डेलिभरि गर्न सकिने बारेमा सम्बोधन गर्ने गरी बजेट ल्याउने बारेमा छलफल भयो । बजेट, बजेटपूर्वको छलफल, सरकारको आर्थिक नीति तर्जुमाका बारेमा छलफल भयो ।”
प्रमुख सचेतक लेखकले तत्काल गठबन्धन भत्किने र नयाँ बन्ने सम्भावना नरहेको बताए।








