शीर्ष दलको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरण प्रवेश
काठमाडौँ । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले शीर्ष तीन दलका नेताहरूबिचको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणबारे अनौपचारिक छलफल भएको बताएका छन् ।
नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले शीर्ष तीन दलका नेताहरुबीचको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणबारे अनौपचारिक छलफल भएको जानकारी दिएका हुन् ।
बालुवाटारमा आईतबार बिहान बसेको शीर्ष दलका नेताहरूको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणले प्रवेश पाएको हो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उपनेता नेम्वाङले नक्कली भूटानी शरणार्थी प्रकरणमा चलिरहेको अनुसन्धानलाई सघाउने गरी शीर्ष नेताहरूबिचमा छलफल भएको बताए ।
शीर्ष नेताहरूले संविधान र कानूनअनुसार काम कारबाही अघि बढाउन बैठक बसेको कुनै हस्तक्षेप नहुने बताएको जानकारी दिए ।
उनले भने,“प्रसंगवश यो विषय उठेको थियो, वर्तमान अवस्था, तपाईहरू तीन नेता त बस्ने बित्तिकै भूटानी शरणार्थीको बारेमा छलफल गर्न बस्यो, भनेर चर्चा हुन्छ के हो भनेर हाँस्दै सोध्ने मान्छे मै हो ? यो विषयलाई लिएर एउटा चासो छ, कथं कदाचित सोधिहाले भने हामी तीन दलको बीचमा एउटा समझदारी छ, हामी तीन दल निस्कर्षमा छौँ, त्यो संविधान कानून बमोजिम निस्कर्षमा पुगोस् भन्ने चाहना हो, त्यही कुरा भनिदिए हुन्छ भन्ने जवाफ आएको छ ।”
उपनेता नेम्वाङले शीर्ष नेताहरूको बैठकमा संसदीय गतिविधिहरु र विधेयकहरुलाइ अघि बढाउन समभलदारी बनेको पनि बताए ।
एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङले शीर्ष नेताबिचको छलफल सकारात्मक भएको र सोमवारदेखि विषयगत समितिहरूको बैठक र संघीय संसदको संयुक्त समिति र नियमावली बनाउने बारेमा पनि सहमति जुटेको जानकारी दिए ।








