‘यात्री बाइक दर्ता प्रक्रियामा फेरि समस्या आयो, सरकारले यसको समाधान गर्नुपर्छ’
काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले विद्युतीय सवारी साधन यात्री बाइकको दर्ता प्रक्रियामा फेरि समस्या आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले यात्रीले दर्ता नपाएपछि प्रधानमन्त्री निर्देशनमा कार्यविधि संशोधन गरेर दर्ता भए पनि अहिले फेरि दर्ता प्रक्रियामा समस्या आएको बताए ।
उनले भने, “विद्युतीय सवारी साधन बनाइरहेको यात्रीले दर्ता नपाएपछि प्रधानमन्त्रीले निर्देशनमा कार्यविधि संशोधन भयो, दर्ता भयो, प्रधानमन्त्रीको तारिफ पनि भयो । तर अहिले आएर फेरि दर्ता प्रक्रियामा समस्या देखिएको छ । सरकार भन्छ भ्याट बिल तिरेको ३५ दिनभित्र दर्ता भएन भने जरिवाना लाग्छ । पहिले कानुन थिएन दर्ता भएन, तर अहिले कानुन भयो, दर्ता भयो तर आफैं ढिलो कानुन बनाउने निकायले के भन्छ भने दर्ता ढिलो किन गरिस् ? तैंले जरिवाना तिर्नुपर्छ ।”
थापाले सरकारको यो कमजोरीको भारी उद्यमीलाई बोकाउन नमिल्ने बताएका छन् । “स्वदेशी उत्पादन किन्छु उपभोग गर्छु, उपभोग बढाउँछु भनेर नीति बोकेर हिडेको सरकारले असल नियतका साथ काम गरिरहेका उद्यमीहरूलाई निरुत्साहित हुन नदिओस् र आफ्नै नीतिको लाज राखोस् ।” उनले भने ।








