राष्ट्रिय सहकारी महासंघद्वारा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौँ । राष्ट्रिय सहकारी महासंघले आन्दोलनको घोषणा गरेको छ । महासंघले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आन्दोलनको घोषणा गरेको हो । महासंघले जेठ ९ गतेदेखि नै माग पुरा नभएसम्म निरन्तर सबै जिल्लास्तरीय संघहरूमा आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो ।
महासंघले समस्यामा रहेका सहकारी सञ्चालन गर्न सरकारलाई दबाब दिन सरकारी कार्यक्रम बहिष्कारदेखि रिले अनशनसम्म बस्ने विरोधका कार्यक्रमहरू सार्वजनिक गरेको छ ।
महासंघले आन्दोलनको क्रममा ‘हामी आन्दोलनमा छौं’ भन्ने कालो ब्यानर राख्ने, सबै सहकारी संघ संस्थाका कर्मचारीहरूले कालोपट्टी लगाएर कार्यालयको दैनिक कार्य सञ्चालन गर्ने, तीनै तहका सरकारद्वारा आयोजित अन्तरक्रिया गोष्ठी, छलफल, तालिमलगायतका कार्यक्रमहरूमा सहभागी नभई भद्र अवज्ञा गर्ने बताएको छ ।
सहकारी व्यवस्थापक र सञ्चालकले सहकारीको बचतकर्ता तथा सेयरधनीको रकम दुरुपयोग गरेको घटना एकपछि अर्को गर्दै आइरहेको अवस्थामा महासंघले भने सञ्चालन समस्यामा रहेका सहकारी सञ्चालनको वातावरण बनाउन भन्दै दुई वर्षको समय माग गरेको छ ।
राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका वरिष्ठ उपाध्यक्ष तथा सहकारी समस्या समाधान सहजीकरण कार्यदलका संयोजक ओमदेवी मल्लले सहकारी ऐन र नियमावली कार्यान्वयनका लागि धेरै मन्त्री, उपप्रधानमन्त्री तथा शीर्ष नेताहरूलाई भेट्दा पनि आफ्ना कुराहरूको सुनुवाइ नभएको भन्दै आफूहरूले पहिलोपटक शान्तिपूर्ण रूपमा आन्दोलन गर्न लागेको बताइन् ।








