कटन धागोमा लगाएको कर हटाउन निर्यात व्यवसायीहरूको माग
काठमाडाैँ । निर्यात व्यवसायी महासङ्घ नेपालले कटन र ऊनीको धागोमा लगाएको कर हटाउन सरकारसँग माग गरेको छ ।
सोमवार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा।प्रकाश शरण महतलाई ध्यानाकर्षण गराउँदै निर्यातजन्य वस्तुको कच्चा पदार्थमा लगाएको कर खारेज गर्न माग गरेको हो ।
व्यवसायीहरूले अर्थमन्त्रीलाई घरेलु तथा साना उद्योगमा दर्ता हुने भएकाले भ्याटमा दर्ता हुन नपर्ने व्यवस्था कायम रहनुपर्ने माग राखेको छ । महासङ्घका अध्यक्ष शंकरप्रसाद पाण्डेले कच्चा पदार्थको पहिले रहेको भ्यालुमा १५ प्रतिशतसम्म कर थप गरेको भन्दै १५ प्रतिशत कर घटाउनुपर्ने बताए ।
उनले सरकारले कच्चा पदार्थमा कर बढाउनु भनेको आयातलाई प्रोत्साहन गर्नु भएको बताए ।
उनले सरकारले विगतमा निर्यातजन्य उद्योगमा ५० प्रतिशतसम्म आयकरमा छुट दिएपश्चात् १२ प्रतिशत कर तिर्नु पर्नेमा आगामी आर्थिक वर्षदेखि कर वृद्धि हुँदा २० प्रतिशत पुगेको बताए । उनले सरकारले विद्यमान करको व्यवस्थालाई कायम राख्न अर्थमन्त्रीसँग माग गरिएको बताए ।
पाण्डेले सरकारले निर्यातजन्य व्यवसायलाई दिँदै आएका नगद अनुदान पर्याप्त नभएको बताए । उनले सरकारले सबै क्षेत्रलाई उत्पादन अनुसार वितरण गर्नुपर्ने माग गरिएको बताए ।








