२४ माघ २०८२, शनिबार

स्वर्गद्वारी-भिङ्ग्री सडक खण्डमा दुर्घटना बढेपछि नेकपा एमाले प्यूठानले ध्यानाकर्षण पत्र बुझायो

प्रकाशित मिति :  14 June, 2023 1:56 pm


प्यूठान। प्रसिद्ध तिर्थस्थल स्वर्गद्वारी-भिङ्ग्री सडक खण्डमा दुर्घटना बढेपछि सडक सुरक्षाबारे नेकपा एमाले प्यूठानले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

जेठ २९ गते स्वर्गद्वारीबाट फर्कदै गरेको कार दुर्घटनामा ८ जनाको निधन भएपछि नेकपा एमाले प्यूठानले आज प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको हो ।

आर्थिक वर्ष २०७५/०७६ देखि पछिल्लो पटकको दुर्घटनासम्म ३० जनाको मृत्यु भइसकेको भन्दै यसले पवित्र स्थलबारे नकारात्मक सन्देश प्रवाह भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

अध्यक्ष विजयविराज विष्ट हस्ताक्षरित ध्यानकर्षण पत्रमा भनिएको छ,“यस्ता घटनाहरूको न्यूनिकरणमा भूमिका निर्वाह गर्नु हामी सबैको दायित्व हो । विशेषगरी सडक नियम पालना गराउने निकायले तदारुकता देखाउनु आवश्यक ठानिएको छ ।”

स्थानीय प्रशासनले नेतृत्व लिने र आफ्ना गतिविधिहरूलाई प्रभावकारी बनाउन सकेमा घटना अधिक न्यूनिकरण गर्न सकिने भन्दै नेकपा एमाले प्यूठानले पाँच बुँदे सुझाव पेश गरेको छ ।

दुर्घटना न्युनिकरणका लागि सडक डिभिजन कार्यालय प्यूठान र अन्य निकायहरू मार्फत भिंगृ-स्वर्गद्वारी १३ किलोमिटर सडक नियमित स्तरोन्नतीका काम भए पनि प्रभावकारी कार्यान्वयनमा सम्बन्धित निकायको उदासिनता देखिएको उल्लेख छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ,“वर्षेनी करोडौँ बजेट खर्च हुने तर सडक सुरक्षा र आवश्यकताका आधारमा सकड सुधार हुन नसकेको पाइएकाले कामलाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।”

पहाडी भिरालो, धेरै घुम्तिहरू भएको बाटो भएकाले सवारी साधनको अवस्था, ट्राफिक सिग्नल, क्षमता अनुसारको यात्रु संख्या,सवारीको गति जस्ता सवालमा ट्राफिक प्रहरी मार्फत विशेष ध्यान दिन पनि नेकपा एमालेले जोड दिएको छ ।

आर्थिक साँघुरो ठाउँहरूमा बलिया रेलिङ, वालेको व्यवस्था गर्न सुझाव दिइएको छ ।

ध्यानकर्षण पत्रमा भनिएको छ,“सडक खण्डको सुरुवातमा सूचना डेक्सबाट यात्रा सम्बन्धी जानकारी र मध्य भागमा रिप्रेस सेन्टर स्थापना गरी दुबै तर्फबाट आवातजावत गर्ने सवारीहरूलाई यहाँ केही समय रोक्ने प्रबन्ध गर्नुपर्ने देखिन्छ ।”

सार्वजनिक यातायातको सम्बन्धमा आइरहेका गुनासोहरूको यथोचित सुनुवाई र कार्यान्वयनका लागि समेत नेकपा एमाले प्यूठानले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !