आयोगले समयानुकुल पाठ्यक्रम तथा परीक्षण विधिमा सुधार गर्नुपर्छः उपराष्ट्रपति
काठमाडाैँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बौद्धिक जनशक्तिलाई आफ्नै मुलुकको सेवामा लगाउनको लागि आयोगले समयानुकुल पाठ्यक्रम तथा परीक्षण विधिमा सुधार गर्न आवश्यक रहेको बताएका छन् ।
शुक्रबार लोकसेवा आयोगको ७३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले पछिल्लो समय नेपालबाट बौद्धिक जनशक्ति विदेश पलायन भइरहेको भन्दै त्यस्तो जनशक्तिलाई नेपालमा नै सेवा गर्न प्रेरित गर्न लोकसेवा आयोगले भुमिका खेल्नुपर्ने बताएका हुन् ।
उनले लोकसेवा आयोगले सधैँ वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताप्रति आशा र भरोसाको केन्द्रका रूपमा आफ्नो कर्तव्य,दायित्व र जिम्मेवारी निर्वाह गर्न सक्नुपर्ने बताए ।
उनले कर्मचारी भर्ना र छनोट समग्र प्रशासन संयन्त्रको जग रहेको भन्दै आयोगले गलत भर्ना नीति र प्रक्रियालाई निरुत्साहित गर्न आवश्यक रहेको बताएका छन् ।
उपराष्ट्रपति यादवले उच्च नैतिकवान र उतप्रेरित कर्मचारीले मात्रै सुशासन कायम टेवा पु¥याउने गरी कर्मचारी छनोट गर्नुपर्ने उनकाे भनाइ छ ।
उनले सुशासन समग्र सिद्धान्त ,व्यवहार र जनताले अनुभुति गर्ने विषय समेत भएकाले यसलाई नारामा मात्रै सिमित राख्न नहुने बताउँदै आयोगले गर्ने भर्ना छनोटको उद्देश्य वर्तमान चुनौतिहरूको सामना गर्नसक्ने जनशक्ति प्रवेश गराउने हुनुपर्ने बताए
यादवले आयोगले समयको माग अनुसार प्रविधिमैत्री बन्दै दायित्व र जिम्मेवारीलाई थप विश्वानिय बनाउने विश्वास व्यक्त गरे ।








