लुम्बिनी प्रदेश सरकारले ल्यायो रु. ४० अर्ब ४७ करोडको बजेट
देउखुरी । लुम्बिनी प्रदेश सरकारले रु. ४० अर्ब ४७ करोड ९७ लाखको बजेट ल्याएको छ ।
आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले प्रदेश सभामा पेश गरेको बजेट अनुसार कुल विनियोजन मध्ये चालुतर्फ रु. १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार अर्थात ३३.६८ प्रतिशत र पुँजीगततर्फ रु. २३ अर्ब २५ करोड ६९ लाख १ हजार अर्थात ५७.४५ प्रतिशत र वित्तीय हस्तान्तरणका लागि रु. ३ अर्ब ५८ करोड ९७ लाख अर्थात ८.८७ प्रतिशत रहेको छ ।
अगामी आर्थिक वर्षमा अनुमान गरिएको खर्च वेहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वबाट रु. ६ अर्ब ७३ करोड ५१ लाख,संघबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट रु. ११ अर्ब ३१ करोड ७४ लाख,संघबाट प्राप्त हुने रोयल्टीबाट रु. २९ करोड, स्थानीय तहबाट बाँडफाँड भई प्राप्त हुने राजश्व रु. २ अर्ब ५० करोड ३० लाख प्राप्त हुने अनुमान प्रदेश सरकारको छ ।
यस्तै संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु. ८ अर्ब १४ करोड ८३ लाख,सशर्त अनुदानबाट रु. ५ अर्ब ८३ करोड ५९ लाख, समपूरक अनुदानबाट रु. ८४ करोड, विशेष अनुदानबाट रु.५६ करोड, चालु आर्थिक वर्षको नगद मौज्दातबाट रु. ३ अर्ब र आन्तरिक ऋणबाट रु. १ अर्ब २५ करोड परिचालन हुने अनुमान गरिएको छ ।








