याे बजेट पास हुन दिँदैनौँः सुवास नेम्वाङ
काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सरकारले संसदमा प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पास हुन नदिने बताएका छन् ।
शनिवार पार्टीका मधेस प्रदेश सभा सदस्यहरुलाई प्रशिक्षण दिन जनकपुर पुगेका उनले सरकारले ल्याएको बजेट भेदभावपूर्ण रहेको जिकिर गर्दै संसदबाट कुनै पनि हालतमा पास हुन नदिने बताए।
उनले भौतिक मन्त्रालयबाट ५ अर्बको बजेटमध्ये ५१ प्रतिशत बजेट ४ वटा जिल्लामा र बाँकी ४९ प्रतिशत बजेट ७३ जिल्लामा दिनेगरी भेदभावपूर्ण रुपमा गरिएको बजेटको समर्थन गर्न नसकिने बताए।
उपाध्यक्ष नेम्वाङले सरकारले दुई दिनपछि (असार ३) गतेबाट अनिवार्य अवकासमा जान लागेका कर्मचारीलाई मुख्यसचिव बनाउने र कार्यकाल बाँकी रहेका मुख्य सचिवलाई पदबाट राजीनामा दिन बाध्य बनाउने काम गरेको बताए । मुख्यसचिवलाई सुरक्षा परिषद्मा लगेर थन्क्याउनु देशको रक्षा र विकासका लागि हुन नसक्ने तर्क उनकाे छ ।
“यो बजेट देशका लागि हो, यसरी देशका लागि बजेट बनाइन्छ । संघीय संसदमा सत्तापक्षकै सांसदहरुले बोलेको सुन्दा सत्तापक्ष की प्रतिपक्ष हो थाहा हुँदैन । भेदभावबिरुद्धको आगो त्यहाँ छ । यो बजेट पास गर्न दिइँदैन ।” उनले भने ।
उपाध्यक्ष नेम्वाङले नागरिकता पाउनुपर्ने वास्तविक व्यक्तिहरुले नागरिकता पाउन ढिलाइ गर्नु नहुने तर्क गरे । उनले नागरिकताको विषय टुंगोमा पु-याउने नाममा संविधान र नियम भन्दा पर जान नहुने बताए ।








